रातभरको वर्षाले दुई जिल्लामा पहिरोको कहरः जाजरकोटमा वृद्धाको मृत्यु, दोलखामा चार महिनाकी शिशुले गुमाइन् ज्यान

काठमाडौँ– लगातारको वर्षापछि आएको पहिरोले जाजरकोट र दोलखामा दुई जनाको ज्यान लिएको छ। जाजरकोटमा अस्थायी टहरो पुरिँदा एक वृद्धाको मृत्यु भएको छ भने दोलखामा सडक अवरुद्ध भएपछि पैदल हिँडिरहेका आमाछोरी पहिरोमा परेका बेला चार महिनाकी शिशुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–२ राङ्सीकी करिब ६० वर्षीया जयशीला शाहको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो। इन्स्पेक्टर सुधिरकुमार खड्काका अनुसार उनी बास बस्दै आएको अस्थायी टहरोलाई पहिरोले पुरेपछि घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटनामा जयशीलाकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा भने सकुशल उद्धार भएका छन्। स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उनीहरूलाई पहिरोबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

यस्तै, दोलखामा पहिरोले पुरिँदा चार महिनाकी एलिना थामीको मृत्यु भएको छ भने उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल निवासी शर्मिला आफ्नी छोरीलाई लिएर माइतीघर भिमेश्वर नगरपालिका–१ सुस्पाबाट घर फर्किंदै थिइन्।

राति करिब ९ बजेतिर सुनखानी–साङवा सडक खण्डअन्तर्गत क्याङपोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध गरेपछि उनी गाडीबाट ओर्लिएर पैदल यात्रा गरिरहेकी थिइन्। सोही क्रममा एक्कासि खसेको पहिरोले आमाछोरीलाई बगाएको प्रहरीले जनाएको छ। स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पु¥याएका थिए।

अस्पताल पु¥याइएलगत्तै चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै देशका विभिन्न पहाडी जिल्लामा पहिरोको जोखिम बढिरहेको बेला जाजरकोट र दोलखाका यी दुई घटनाले वर्षायामको विपद् जोखिम फेरि उजागर गरेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट