आत्म*दाह गरेर ज्यान गुमाउँनेको संख्या ४ पुग्यो, कार आगलागीमा ज्यान गुमाउने ७० वर्षीय वृद्धले आत्मदाह गरेको निष्कर्ष
काठमाडौँ– कीर्तिपुरको ट्याङ्लाफाँटमा जलेको कारभित्र चालक सिटमै सीट बेल्ट बाँधेको अवस्थामा ७० वर्षीय एक वृद्धको शव भेटियो। त्यही दिन राजधानीकै बौद्ध क्षेत्रमा २७ वर्षीया एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइन्। केही दिनअघि मात्रै त्रिपुरेश्वर, बुद्धनगर, सर्लाही र रौतहटमा पनि यस्तै आत्मदाह वा आत्मदाह प्रयासका घटना सार्वजनिक भइसकेका थिए।
पछिल्लो एक साताभित्र नेपालमा आत्मदाह र आत्मदाह प्रयासका ६ वटा घटना सार्वजनिक हुनु संयोग होइन, समाजभित्र गहिरिँदै गएको मानसिक, आर्थिक र सामाजिक संकटको संकेतका रूपमा हेरिन थालेको छ।
मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनीचोक नजिक बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। आगो निभाएपछि चालक सिटमा सीट बेल्ट लगाएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो।
अनुसन्धानपछि मृतक काठमाडौं महानगरपालिका–२६ क्षेत्रपाटीका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भयो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनास्थल, सीसीटीभी फुटेज र प्रारम्भिक अनुसन्धानका आधारमा श्रेष्ठले नियतपूर्वक कारभित्र आगो लगाएको निष्कर्षमा प्रहरी पुगेको छ।
अनुसन्धानले देखाएअनुसार श्रेष्ठले कीर्तिपुरको सुम्लाङकोट क्षेत्रको खाली ठाउँमा कार रोकेर गाडीभित्र पेट्रोल छर्किएका थिए। आगो लाग्दा पनि उनले सीट बेल्ट नखोली चालक सिटमै बसेको अवस्था देखिएको छ।
सीसीटीभी फुटेजमा एक स्थानीय व्यक्ति कारको ढोका खोल्न पुगेको देखिए पनि आगोको झिल्काले हातमा असर पुगेपछि उनी पछि हटेका थिए। ढोका खुलेको अवस्थामा समेत श्रेष्ठ बाहिर निस्कने प्रयास नगरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार श्रेष्ठ औषधि व्यवसायमा संलग्न थिए। कोभिड–१९ महामारीका बेला विदेशबाट स्वास्थ्य सामग्री आयात गरेका उनले ठूलो आर्थिक जोखिम बेहोरेका थिए। पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बजारबाट लगानी फिर्ता नआएपछि उनी ऋणमा डुबेका थिए र पछिल्लो समय गम्भीर मानसिक तनावमा थिए। परिवारका सदस्यहरूले उनले समय–समयमा अस्वाभाविक व्यवहार गर्ने गरेको जानकारी दिएका छन्।
यही घटनाको केही घण्टापछि राजधानीमै अर्को आत्मदाह प्रयासको घटना सार्वजनिक भयो। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले बौद्ध गेट नजिक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।
प्रहरीका अनुसार गुरुङले श्रीमानद्वारा सञ्चालन गरिएको खाजाघर पछाडिको पार्किङ क्षेत्रमा आत्मदाहको प्रयास गरेकी हुन्। घटनापछि गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा श्रीमानसँगको विवाद कारण हुन सक्ने संकेत देखिए पनि वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
राजधानीमा मात्र होइन, देशका विभिन्न भागमा पनि यस्ता घटनाको श्रृंखला देखिएको छ। असार ३० गते राति रौतहटको गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घाँटीदेखि तलसम्म शरीरको करिब ३१ प्रतिशत भाग जलेका उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल र प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार परिवारले सहनी लामो समयदेखि मानसिक तनावमा रहेको र अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी दिएको छ।
यसअघि मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए। राहदानी बनाउन राजधानी आएका उनी महानगर प्रहरीसँगको विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाउन पुगेका थिए। उपचारका क्रममा उनको मृत्यु भयो। उक्त घटनाले देशभर व्यापक बहस जन्माएको थियो।
त्यसपछि काठमाडौं महानगरपालिका–१० बुद्धनगरका ४५ वर्षीय व्यवसायी आश्विन राउतले आफ्नै घरमा आत्मदाह गरेका थिए। शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेका राउतको पनि उपचारकै क्रममा मृत्यु भयो। प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद देखिए पनि परिवारजनले आर्थिक, स्वास्थ्य तथा अन्य व्यक्तिगत तनावसमेत कारण हुन सक्ने बताएका छन्।
सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलको घटना अझ मार्मिक छ। विज्ञान विषयमा स्नातकोत्तर गरेका मण्डल बेरोजगारी, आर्थिक अभाव र मानसिक तनावसँग जुधिरहेको प्रहरी अनुसन्धानले देखाएको छ। शरीरको करिब ९० प्रतिशत भाग जलेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। तर कीर्तिपुर बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भयो।
यी ६ घटनाको प्रकृति, उमेर समूह, सामाजिक पृष्ठभूमि र कारण फरक–फरक देखिए पनि एउटा साझा सूत्र भने स्पष्ट देखिन्छ— मानसिक तनाव, आर्थिक असुरक्षा, सामाजिक दबाब र व्यक्तिगत संकटको बढ्दो बोझ।
प्रहरी अधिकारीहरू सबै घटनालाई एउटै कारणसँग जोड्न नहुने बताउँछन्। प्रत्येक घटनाको छुट्टाछुट्टै अनुसन्धान भइरहेको र निष्कर्षहरू फरक हुन सक्ने उनीहरूको भनाइ छ। तर पछिल्लो एक सातामा मात्र ४ जनाले ज्यान गुमाउनु र दुई जना गम्भीर घाइते हुनु आफैंमा चिन्ताजनक संकेत भएको सुरक्षा अधिकारीहरू स्वीकार गर्छन्।
विशेषज्ञहरूका अनुसार आत्मदाह कुनै आकस्मिक निर्णय मात्र होइन, प्रायः लामो समयदेखि सञ्चित मानसिक पीडा, असहायता, निराशा वा चरम भावनात्मक संकटको परिणाम हुन सक्छ। आर्थिक असफलता, बेरोजगारी, पारिवारिक तनाव, सामाजिक अपमान वा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव यस्ता घटनाका पृष्ठभूमि बन्ने गरेका छन्।
कीर्तिपुरको जलेको कार, बौद्धको पार्किङ क्षेत्र, त्रिपुरेश्वरको सडक, बुद्धनगरको घर, रौतहटको बस्ती र सर्लाहीको गाउँ— स्थान फरक भए पनि ती सबै घटनाले अहिले एउटै प्रश्न उठाइरहेका छनः के समाजले मानिसहरूको भित्री पीडा सुन्न छोडेको हो?
पछिल्लो साताका यी घटनाहरू केवल प्रहरी अनुसन्धानका फाइल होइनन, ती आर्थिक असुरक्षा, मानसिक स्वास्थ्य संकट र सामाजिक एक्लोपनको गहिरिँदो चित्र पनि हुन्। राज्य, परिवार र समाजले समयमै संकेतहरू बुझ्न नसके यस्ता आगोका लप्काहरू केवल शरीर मात्र होइन, सामाजिक संवेदनशीलताको आधारसमेत जलाउने खतरा बढ्दै जाने देखिन्छ।

