पत्नीसँगको विवादपछि आत्म*दाह गर्न पेट्रोल खन्याई सकेका सप्तरीका सञ्जिव झालाई प्रहरीले बचायो
विराटनगर– विराटनगरमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले समयमै हस्तक्षेप गर्दै उनलाई सकुशल उद्धार गरेको छ। बुधबार अपराह्न विराटनगर महानगरपालिका–१३ मा भएको घटनामा सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ घर भई हाल विराटनगरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय सञ्जीव झालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
मोरङ प्रहरीका अनुसार बुधबार करिब साढे ४ बजे आत्मदाहको प्रयास भइरहेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेको प्रहरीले शरीरमा पेट्रोल छर्किसकेका झालाई आगो लगाउनुअघि नै नियन्त्रणमा लिएर सम्भावित मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद घटनाको मुख्य कारण देखिएको बताए। उनका अनुसार पत्नीसँग भएको झगडापछि झाले आवेगमा आएर आफ्नै शरीरमा पेट्रोल छर्किएका थिए। घटनास्थलबाट आगो लगाउन प्रयोग गर्न तयार अवस्थामा रहेको सलाईसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार झाको परिवार विराटनगरमै बस्दै आएको छ भने उनी रोजगारीका सिलसिलामा अधिकांश समय भारतमा बस्ने गरेका थिए। उनी चार दिनअघि मात्रै भारतबाट विराटनगर फर्किएको खुलेको छ।
अनुसन्धानका क्रममा परिवारभित्र यसअघि पनि पटक–पटक विवाद र झैझगडा हुने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। झाका पत्नी र दुई सन्तान रहेको जानकारी पनि प्रहरीले दिएको छ।
उद्धारपछि झालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ। घटनाको वास्तविक कारण, पारिवारिक अवस्था तथा आत्मदाहको प्रयाससम्म पुग्नुका पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा आत्मदाह तथा आत्मदाह प्रयासका घटनाहरू बढ्दै गएका बेला विराटनगरको यो घटनाले पनि मानसिक तनाव, पारिवारिक द्वन्द्व र सामाजिक दबाबसँग सम्बन्धित विषयलाई पुनः चर्चामा ल्याएको छ। यद्यपि यस घटनाको विशिष्ट कारणबारे प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

