सुकुनापछि सिद्धार्थमा पनि यौन शोषणको विस्फोटः कन्फेसन पेजको खुलासापछि भाइस प्रिन्सिपल निलम्बित
विराटनगर– मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयभित्र वर्षौँदेखि दबिएर रहेका यौन दुव्र्यवहारका आरोप सार्वजनिक गरी प्रहरी अनुसन्धान र कारबाहीको चरणसम्म पुर्याएको ‘S/K/N Confession & Meme’ नामक कन्फेसन पेजले अहिले अर्को शैक्षिक संस्थाको पुरानो ‘डार्क फाइल’ सार्वजनिक गरेपछि नयाँ तरंग सिर्जना भएको छ।
पेजमार्फत १२–१३ वर्षअघिको कथित बाल यौन शोषणको आरोप सार्वजनिक भएसँगै मोरङको सुन्दरहरैँचा–१० खोरसानेस्थित सिद्धार्थ सेकेन्डरी स्कूलले आफ्ना भाइस प्रिन्सिपल जीवन पौडेललाई निलम्बन गरेको छ।
सुकुना प्रकरणले सामाजिक सञ्जाललाई विद्यालयभित्र दबिएका आवाज सार्वजनिक गर्ने माध्यमका रूपमा स्थापित गरिरहेका बेला सोही डिजिटल अभियानले अब सिद्धार्थ स्कूलतर्फ औँला ठड्याएको हो। सार्वजनिक आरोपको केन्द्रमा रहेका जीवन पौडेलमाथि आफू १३ वर्षको हुँदा, कक्षा ७ र ८ मा अध्ययनरत अवस्थामा, ट्युसन र शैक्षिक मार्गदर्शनको नाममा यौन उत्पीडन तथा शोषण गरेको आरोप लगाइएको छ।
‘S/K/N Confession & Meme’ ले सार्वजनिक गरेको सामग्रीमा एक महिलाले आफ्नो पहिचान गोप्य राख्दै बाल्यकालमा आफू पौडेलबाट यौन शोषणको शिकार भएको दाबी गरेकी छिन्। उनले पौडेललाई विद्यालयमा प्रभावशाली र सम्मानित शिक्षकका रूपमा विश्वास गरेको तर त्यसै विश्वासको दुरुपयोग गरेर आफूलाई मनोवैज्ञानिक दबाबमा राख्दै शोषण गरिएको आरोप लगाएकी छिन्।
ती महिलाले आफू मात्र नभई विद्यालयका अन्य छात्राहरू पनि यस्तै व्यवहारको शिकार भएको दाबी गरेकी छिन्। उनले एक समय अर्को पीडित साथीलाई लिएर प्रतिवाद गर्न पौडेलको घरसम्म पुगेको तर उनी त्यहाँबाट भागेको समेत उल्लेख गरेकी छिन्।
सार्वजनिक अभिव्यक्तिमा उनले सामाजिक डर, लाज र दबाबका कारण वर्षौँसम्म मौन बसेको बताएकी छिन्। तर, मौनताले अपराधीलाई संरक्षण पुग्ने निष्कर्षमा पुगेर अहिले सार्वजनिक रूपमा बोल्न बाध्य भएको उनको भनाइ छ।
विद्यालय प्रशासनमाथि पनि प्रश्न
आरोप केवल जीवन पौडेलसम्म सीमित छैन। पीडितले विद्यालय प्रशासनले समेत विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएकी छिन्। उनका अनुसार केही महिनाअघि नै सिद्धार्थ बोर्डिङ स्कूलका वर्तमान प्रिन्सिपल अर्जुन बस्नेतलाई फोनमार्फत घटनाबारे जानकारी गराइएको थियो। भाइस प्रिन्सिपलको जिम्मेवारीमा रहेका पौडेलबाट अन्य विद्यार्थीहरूलाई जोगाउन तत्काल बर्खास्त गर्न आग्रह गरिएको भए पनि विद्यालय प्रशासनले त्यसलाई बेवास्ता गरेको आरोप लगाइएको छ।
पीडितले प्रिन्सिपल अर्जुन बस्नेत, निलम ढुंगाना र शिक्षक खगेन्द्र रिजाललगायत विद्यालयका जिम्मेवार व्यक्तिहरूले विषयलाई गम्भीरतापूर्वक नलिई ढाकछोप गरेको दाबी गरेकी छन्। यद्यपि यी आरोपबारे विद्यालय प्रशासनका ती व्यक्तिहरूको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
विद्यालयको दाबीः ‘त्यतिबेला कुनै उजुरी आएको थिएन’
विवाद चर्किएपछि सिद्धार्थ सेकेन्डरी स्कूलले साउन ७ गते औपचारिक सूचना जारी गर्दै जीवन पौडेललाई निलम्बन गरेको घोषणा गरेको छ। विद्यालयले जारी गरेको विज्ञप्तिमा आफूलाई पूर्वविद्यार्थी बताउने व्यक्तिबाट सामाजिक सञ्जालमा गम्भीर आरोप सार्वजनिक भएको उल्लेख गर्दै सत्यतथ्य छानबिनका लागि पौडेललाई तत्काल जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ।
विद्यालयले भने आरोप लगाइएको समयमा कुनै गुनासो वा उजुरी प्राप्त नभएको दाबी गरेको छ। विद्यालयका अनुसार सम्भवतः १२–१३ वर्षअघिको भनिएको घटनाबारे त्यतिबेला कुनै औपचारिक जानकारी प्रशासनसम्म आएको थिएन।
तर यो दाबीलाई चुनौती दिँदै ‘S/K/N Confession & Meme’ ले अर्को पोस्ट सार्वजनिक गरेको छ। पेजले विद्यालयको विज्ञप्तिमा गरिएको ‘कुनै उजुरी आएको थिएन’ भन्ने दाबी तथ्यसँग मेल नखाने उल्लेख गरेको छ।
पेजका सञ्चालकहरूले घटनाको समयमा नै विद्यालयमा उजुरी गरिएको र त्यससम्बन्धी जानकारी तथा प्रमाण आफूहरूसँग रहेको दाबी गरेका छन्। उनीहरूले केवल जीवन पौडेलमाथि मात्र होइन, घटनासँग सम्बन्धित वा त्यसलाई ढाकछोप गरेको आरोप लागेका सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
सुकुनाबाट सिद्धार्थसम्म
यो घटनाले सुकुना माध्यमिक विद्यालयमा सुरु भएको डिजिटल खुलासा अभियानलाई अर्को चरणमा पुर्याएको देखिन्छ। सुकुना प्रकरणमा यही पेजले ‘हिडन भोइस’ अभियानमार्फत विद्यार्थी तथा पूर्वविद्यार्थीका अनुभव, च्याट, अडियो, स्क्रिनशट र व्यक्तिगत बयान सार्वजनिक गरेपछि विद्यालयभित्रका कथित यौन दुव्र्यवहारका घटनाहरू राष्ट्रिय बहसको विषय बनेका थिए।
त्यसपछि विद्यालयका केही शिक्षक, कर्मचारी र बस चालकमाथि अनुसन्धान सुरु भयो। प्रहरीले तीन जनालाई पक्राउ गर्यो, केही कर्मचारी निलम्बित भए र विद्यालय प्रशासनको भूमिकामाथि समेत प्रश्न उठ्यो।
सुकुना प्रकरणबाट प्रभावित भएको देखिएको यही डिजिटल अभियान अहिले सिद्धार्थ स्कूलसम्म पुगेको छ। यसले शैक्षिक संस्थाभित्रका गुनासा, यौन हिंसाका आरोप र संस्थागत जवाफदेहिताको प्रश्नलाई फेरि केन्द्रमा ल्याएको छ।
अब के हुन्छ?
हालसम्म सार्वजनिक भएका आरोपहरू सामाजिक सञ्जालमा आएका बयान र व्यक्तिगत दाबीमा आधारित छन्। घटनाको सत्यता वा असत्यताबारे कुनै सरकारी निकायले औपचारिक निष्कर्ष निकालेको छैन।
विद्यालयले आरोपको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ भने जीवन पौडेललाई अनुसन्धान सहज बनाउन निलम्बन गरिएको बताएको छ। अर्कोतर्फ,‘S/K/N Confession & Meme’ ले आफूहरूसँग उपलब्ध सामग्री र प्रमाणहरू सम्बन्धित निकायलाई बुझाउने तयारी भइरहेको जनाएको छ।
यस प्रकरणले एउटा गम्भीर प्रश्न पुनः उठाएको छ—यदि आरोपहरू सत्य हुन् भने वर्षौँसम्म पीडितहरू किन बोल्न सकेनन? र यदि बोल्ने प्रयास गरेका थिए भने विद्यालय, समाज र सम्बन्धित निकायले किन सुनेनन?
उत्तर अनुसन्धानले दिनेछ। तर एउटा कुरा स्पष्ट छ—सामाजिक सञ्जालमा सुरु भएको डिजिटल ‘कन्फेसन’ अभियानले अहिले शैक्षिक संस्थाहरूभित्रको जवाफदेहिता, विद्यार्थी सुरक्षा र संस्थागत मौनतामाथि अभूतपूर्व दबाब सिर्जना गरिरहेको छ।

यो पनि,

