४८ करोड ऋण अनियमितता प्रकरणमा प्रभु बैंककी सीबीओ रश्मि पन्त पक्राउ

काठमाडौँ– प्रभु बैंकबाट रुपन्देहीस्थित एसियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा भएको अनियमितता प्रकरणमा बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मि पन्त पक्राउ परेकी छिन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि उनलाई बुधबार काठमाडौँको त्रिपुरेश्वरबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेको हो।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पन्तमाथि कर्जा प्रवाह प्रक्रियामा भएको अनियमितताबारे अनुसन्धान भइरहेको छ। सीआईबीले यसअघि नै उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल (शशी शर्मा) लाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको केन्द्रमा रहेको एसियन भिलेज रिसोर्ट प्रालिलाई प्रभु बैंकले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि ४८ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको थियो। तर प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकम प्रस्तावित उद्देश्यमा खर्च नभई कम्पनीका अध्यक्ष पौडेलले आफ्नै समूहका अन्य कम्पनीको दायित्व भुक्तानी गर्न, आफूनिकट व्यक्ति तथा परिवारका सदस्यको बक्यौता तिर्न र अन्य प्रयोजनमा प्रयोग गरेको आरोप छ।

सीआईबी स्रोतका अनुसार कर्जा स्वीकृतिका क्रममा बैंकले धितोका रूपमा तत्काल आफ्नो नाममा दर्ता हुनुपर्ने सम्पत्ति सुरक्षित नगरी पछि बन्धक राख्ने प्रतिबद्धताका आधारमा ऋण प्रवाह गरेको देखिएको छ। यही प्रक्रियामा बैंकका जिम्मेवार अधिकारीहरूको भूमिकामाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ।

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणबाट कर्जा प्रवाहमा भएका अनियमितता औँल्याएपछि यो विषय अनुसन्धानका लागि सीआईबीमा पुगेको थियो।

सीआईबीले पन्तमाथि यही प्रकरण मात्र नभई यसअघि दर्ता भएका बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूको समेत अध्ययन गरिरहेको जनाएको छ। उच्च अदालत पाटनमा दर्ता भएका विभिन्न बैंकिङ कसुर मुद्दामा राम जानकी हेल्थ फाउन्डेसन र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेनरीको नाममा प्रवाह गरिएको एक अर्ब ६ करोड रुपैयाँभन्दा बढी कर्जाको दुरुपयोग सम्बन्धी प्रकरणमा पनि पन्तलाई प्रतिवादी बनाइएको उल्लेख गरिएको छ।

विशेष सरकारी वकिल कार्यालयले उक्त मुद्दामा उनीसहितका प्रतिवादीविरुद्ध १३ करोड रुपैयाँ बिगो, कैद तथा जरिवानाको मागदाबी गरेको छ। अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि पनि उनी फरार थिईन।

सीआईबीले पन्तको पक्राउसँगै प्रभु बैंकको कर्जा स्वीकृति प्रक्रिया, आन्तरिक निर्णय प्रणाली, धितो मूल्यांकन तथा सम्बन्धित अधिकारीहरूको भूमिकामाथि थप अनुसन्धान गर्ने जनाएको छ।

यस प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ), अन्य उच्च व्यवस्थापन तथा कर्जा स्वीकृति प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानका आधारमा आवश्यक परे थप व्यक्तिमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने सीआईबीको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट