स्मार्ट सेल सम्पत्ति बिक्री प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
काठमाडौँ– स्मार्ट टेलिकम (स्मार्ट सेल)को सम्पत्ति बिक्री प्रक्रियामा राज्यलाई हानि–नोक्सानी पु¥याएको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
सीआईबीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा बिक्री प्रक्रियामा अनियमितता भएको आशंकामाथि अनुसन्धान भइरहेको जानकारी दिए।
अनुसन्धानका क्रममा भण्डारीमाथि स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक क्षति पु¥याएको आरोपको छानबिन भइरहेको प्रहरीले जनाएको छ। लाइसेन्स खारेजपछि सरकारको नियन्त्रणमा आएको कम्पनीको टावर, नेटवर्क प्रणाली तथा अन्य पूर्वाधार व्यवस्थापन र लिलामी प्रक्रियामा अनियमितता भएको आरोप यसअघि नै उठ्दै आएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाखमा स्मार्ट टेलिकमको सञ्चालन अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको थियो। कम्पनीले सरकारलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी तथा अन्य दायित्वबापत करिब ३० अर्ब रुपैयाँ राजस्व नतिरेपछि लाइसेन्स रद्द गरिएको थियो। त्यसपछि कम्पनीका सम्पूर्ण पूर्वाधार तथा सम्पत्ति प्राधिकरणको नियन्त्रणमा आएको थियो।
भण्डारी तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। उनी त्यसअघि मन्त्री शर्माको सचिवालयमा विज्ञका रूपमा कार्यरत थिए। टेरामक्स प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि मन्त्रिपरिषद्को २०८० फागुन ६ गतेको निर्णयबाट भण्डारीलाई अध्यक्ष नियुक्त गरिएको थियो।
स्मार्ट सेल प्रकरणसँगै भण्डारीमाथि अध्यक्ष नियुक्तिको क्रममा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप पनि सार्वजनिक रूपमा उठेको थियो। यद्यपि उक्त आरोपबारे आधिकारिक रूपमा कसुर स्थापित भइसकेको छैन र त्यससम्बन्धी कानुनी प्रक्रिया अलग रूपमा अघि बढ्न सक्ने स्रोतहरूले बताएका छन्।
सीआईबीले भण्डारीलाई नियन्त्रणमा लिएर बयान तथा कागजातका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म उनीविरुद्ध कुन–कुन कसुरमा मुद्दा दर्ता गरिने भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीको भनाइ छ।

