गोली लागेर मारिएका सिरहाका गणेश यादवको परिवारसँग सरकारले गरेको सहमतिमा के छ ?

लहान— सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ। शुक्रबार राति सम्पन्न वार्तापछि भएको सम्झौताअनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

औरही गाउँपालिका–२, मोतिपुरमा भएको वार्तापछि भएको सहमतिपत्रमा मृतकका बुवा रामवृक्ष यादव र गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्। वार्ताका लागि पीडित परिवारले गृहमन्त्रीलाई आठ घण्टाभन्दा बढी समय प्रतीक्षा गर्नुपरेको थियो। गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ लहानमा अन्य भेटघाटमा व्यस्त रहेकाले सम्झौता प्रक्रिया ढिलो भएको हो।

सहमतिअनुसार मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनबमोजिम कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

सम्झौतामा गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने र पार्कभित्र उनको सालिक स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।

त्यसैगरी मृतकका दाजु र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा उनकी आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ। सहमतिअनुसार गणेश यादवको अन्त्येष्टि शनिबार बिहान १० बजे गर्ने तय गरिएको छ।

गणेश यादवको साउन १४ गते सिरहाको गोलबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। घटनापछि सिरहासहित आसपासका क्षेत्रमा तनाव बढेपछि सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास थालेको थियो। सरकार र पीडित परिवारबीच सहमति भएपछि सिरहाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट