कुवेत ड्रोन आक्रमणमा ज्यान गुमाएका नेपाली श्रमिक सोमकुमार तामाङको शव आज स्वदेश ल्याइँदै

काठमाडौँ— कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय नेपाली श्रमिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजको उडानमार्फत नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग समन्वय गरी शव स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जुलाई ३० मा भएको आक्रमणमा मृत्यु भएका तामाङको पार्थिव शरीर नेपाल ल्याउने व्यवस्था मिलाइएको जानकारी दिएको हो। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तामाङ कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डमा रहेको एक चिनियाँ कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए। ड्रोन आक्रमणमा कम्पनीको भवनमा क्षति पुग्दा उनको घटनास्थलमै ज्यान गएको थियो। उनी सन् २०२२ देखि कुवेतमा रोजगारीमा रहेका थिए।

कुवेती रक्षा मन्त्रालयले आक्रमणपछि जारी गरेको विज्ञप्तिमा देशको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी भएको आक्रमणमा एक श्रमिकको मृत्यु भएको र भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको उल्लेख गरेको थियो।

यस घटनासँगै इरान–अमेरिका–इजरायलबीच जारी क्षेत्रीय द्वन्द्वका कारण पश्चिम एसियामा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या दुई पुगेको छ। यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)मा गोरखाका दिवस श्रेष्ठको पनि मृत्यु भएको थियो।

नेपाली राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेती सरकारले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

कुवेत सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ करिब १ लाख ८६ हजार नेपाली कार्यरत छन्। तीमध्ये करिब १ लाख १५ हजार कम्पनी क्षेत्रमा, ६८ हजार ९ सय घरेलु श्रमिकका रूपमा र ४ सय २१ जना सरकारी क्षेत्रमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट