सुस्तामा फेरि सीमा तनावः भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन बाँध भत्कायो
काठमाडौँ— पश्चिम नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रमा आइतबार पुनः नेपाल–भारत सीमा तनाव उत्पन्न भएको छ। स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूभागमा प्रवेश गरी बाढीबाट बस्ती जोगाउन निर्माण भइरहेको १३२ मिटर लामो अस्थायी माटोको बाँध भत्काएपछि स्थानीयसँग विवाद र झडप भएको हो।
घटनापछि स्थिति तनावपूर्ण बनेसँगै नेपालतर्फबाट सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको छ। स्थानीय बासिन्दा तथा सुस्ता बचाउ अभियानका प्रतिनिधिहरूका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अन्य हतियारसहित गरी झन्डै ६० जना भारतीय एसएसबी सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए।
उनीहरू दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० देखि ४०० मिटर नेपालतर्फ आएर निर्माणाधीन बाँध भत्काउन थालेको स्थानीयको दाबी छ। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार नारायणी नदीबाट हुने कटान र बाढीको जोखिम कम गर्न स्थानीयले निर्माण गरिरहेको कच्ची तटबन्ध भारतीय सुरक्षाकर्मीले भत्काएका हुन्। स्थानीयले रोक्ने प्रयास गर्दा दुवै पक्षबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको उनले बताए।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले स्थानीयले प्रतिकार गर्दा सामान्य झडप भएको र त्यसक्रममा तीन जना नेपाली घाइते भएको दाबी गरे। स्थानीयले घटनाका भिडियो र तस्बिरसमेत खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
विवाद चर्किएपछि नेपालतर्फबाट सशस्त्र प्रहरी बल घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मीको उपस्थितिपछि स्थिति थप बिग्रिन नदिई नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे पश्चिम नवलपरासीका सीडीओ दीपकराज नेपालले भने फरक धारणा व्यक्त गरेका छन्। उनका अनुसार भारतीय सुरक्षाकर्मी माटोको बाँधबारे बुझ्न घटनास्थल पुगेका थिए। त्यस क्रममा स्थानीयको विरोध भएपछि सामान्य विवाद भएको हो।
उनले सोमबार स्थानीय बासिन्दा, सुरक्षा निकाय र सम्बन्धित पक्षबीच छलफल गरेर विषय टुंग्याउने तयारी गरिएको जानकारी दिए। सुस्ता क्षेत्रमा यस्तै प्रकृतिको विवाद यसअघि पनि दोहोरिएको थियो। गत असारमा पनि भारतीय सीमा सुरक्षा बलले निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले विरोध गरेका थिए। त्यसअघि पनि नारायणी नदी किनारमा भइरहेको तटबन्ध निर्माण रोक्न भारतीय सुरक्षाकर्मी नेपाली भूभागमै आएको आरोप स्थानीयले लगाएका थिए।
नारायणी नदीले वर्षौंदेखि धार परिवर्तन गर्दै आएको, सीमा स्तम्भको अभाव तथा नदी कटानका कारण सुस्ता क्षेत्र नेपाल–भारतबीचको संवेदनशील सीमावर्ती भूभागका रूपमा रहँदै आएको छ। स्थानीय मुन्ना खाँका अनुसार यिनै कारणले सीमासम्बन्धी विवाद पटक–पटक दोहोरिने गरेको छ।
सुस्तामा बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले गत १९ असारमै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई सुरक्षा उपस्थिति थप गर्न निर्देशन दिएको थियो। त्यसपछि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीको संख्या बढाएर ४० पुर्याइएको थियो।
आइतबारको घटनाले सीमा क्षेत्रमा निर्माणाधीन संरचना, बाढी नियन्त्रण र सीमाको व्याख्यासम्बन्धी विवाद पुनः सतहमा ल्याएको छ। स्थानीयले भारतीय एसएसबीले नेपाली भूमिमा प्रवेश गरी संरचना भत्काएको आरोप लगाएका छन् भने प्रशासनले घटनाबारे थप छलफल र समन्वयमार्फत यथार्थ स्पष्ट पारिने जनाएको छ।

