बूढानीलकण्ठमा गोली प्रहार गरी चेन लुटपाटमा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ— काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटपाट र मोटरसाइकल चोरीका घटनामा संलग्न रहेको आरोपित तथा कारागारबाट फरार अभियुक्त कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि तीन राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार राति करिब साढे १० बजे चुनिखेलस्थित गाम्छापानी ट्यांकी नजिक तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि खुकुरीसहित आक्रमणको प्रयास गरेका थिए। त्यसपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली तामाङको खुट्टामा लागेको छ। घाइते अवस्थामा उनलाई नियन्त्रणमा लिएर तत्काल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। उनको उपचार भइरहेको छ। घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, साथै तामाङले प्रयोग गरिरहेको बागमती प्रदेश ०२–०४१ प १६४२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको बौद्ध क्षेत्रमा बस्दै आएका ३४ वर्षीय तामाङ पछिल्ला केही महिनादेखि सिक्री लुटपाट, मोटरसाइकल चोरीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। उनले साउन ७ गते काठमाडौंको धापासी क्षेत्रमा सिक्री लुटेको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष निगरानी र खोजी अभियान सञ्चालन गरेको जनाएको छ।

इन्स्पेक्टर कपिल शाहीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले प्रहरीलाई देख्नासाथ खुकुरी निकालेर प्रतिरोध गर्न खोजेकाले आत्मरक्षाका लागि बल प्रयोग गर्नुपरेको थियो।

एसएसपी घिमिरेले तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परेका व्यक्ति रहेको र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको अभियुक्त भएको जानकारी दिए। जेलबाट फरार भएपछि पनि उनी पुनः शृंखलाबद्ध आपराधिक गतिविधिमा सक्रिय रहेको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट