‘घरको अवस्था म बदल्छु’ भन्ने रवीन्द्रलाई राज्यले लाश बनायोः एउटा गोलीले चकनाचुर बनायो परिवारको सपना
इटहरी— केही महिनाअघि मात्रै २१ वर्षीय रवीन्द्रकुमार मेहताले बाबुसँग एउटा वाचा गरेका थिए—‘कोरिया पुगेपछि सबै दुःख सकिन्छ, अब घरको अवस्था म बदल्छु।’ दक्षिण कोरिया पुग्ने लक्ष्यसहित भाषा कक्षामा नियमित जाने, परीक्षा दिने र अर्को प्रयासका लागि तयारी गरिरहेका उनी भविष्यको योजना बुन्दै थिए। तर वैदेशिक रोजगारीको त्यो सपना पूरा हुन नपाउँदै कप्तानगञ्जको हिंसात्मक घटनामा लागेको प्रहरीको गोलीले उनको जीवन नै अन्त्य गरिदियो।
मंगलबार उपचारकै क्रममा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रवीन्द्रको मृत्यु भएपछि सुनसरीको देवानगन्ज गाउँपालिका–३ मात्रै होइन, एउटा सामान्य किसान परिवारको भविष्य पनि शोकमा डुबेको छ। उनको निधनसँगै १० साउनमा कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
रवीन्द्रको शव अहिले पनि अस्पतालमै छ। घटनाबारे सरकारसँग स्पष्ट जवाफ र न्यायको माग गर्दै परिवार अडानमा छ। यहीबीच गृहमन्त्री सुधन गुरुङ स्वयं महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर परिवारका सदस्य र आफन्तसँग वार्तामा जुटेका छन्। तर परिवारको प्रश्न एउटै छ—जसले घरको भविष्य बोकेको थियो, उसको अभाव राज्यले कसरी पूरा गर्छ?
रवीन्द्र भद्र परिवारका सामान्य युवक थिए। बुबा विजय मेहता र आमा विमलादेवी मेहताका एक्ला छोरा। परिवारमा दुई दिदी र एक बहिनी छन्। दुवै दिदीको विवाह भइसकेको छ भने कान्छी बहिनी अझै बाबुआमासँगै घरमा छिन्। बुढेसकालमा बाबुआमाको सहारा, बहिनीको भविष्यको आधार र परिवारको आर्थिक जिम्मेवारी सबै रवीन्द्रकै काँधमा थियो।
देवानगन्जको सामान्य किसान परिवारमा हुर्किएका रवीन्द्रका बाबुआमाले तरकारी खेती र खेतीपाती गरेर घर चलाउँदै आएका थिए। तर त्यसबाट मात्रै परिवार धान्न कठिन भएपछि रवीन्द्रले वैदेशिक रोजगारीलाई भविष्यको विकल्प बनाए। सुरुमा विराटनगरको विराट मोडेल कलेजमा बीबीएस तेस्रो सेमेस्टर अध्ययनसँगै उनले कोरियन भाषा सिक्न थाले। पहिलो प्रयासमा भाषा परीक्षा पास गर्न नसके पनि उनी निराश भएका थिएनन्। दोस्रो प्रयासमा सफल भएर कोरिया जाने र परिवारको जीवन बदल्ने लक्ष्यमा उनी फेरि जुटेका थिए।
तर त्यो यात्राको टिकट काट्नुअघि नै उनको जीवनको यात्रा अन्त्य भयो। १० साउनमा देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच हिंसात्मक झडप भयो। अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलायो। त्यही क्रममा रवीन्द्रको बायाँ तिघ्रामा गोली लाग्यो। गोलीले मुख्य रक्तनलीमा गम्भीर क्षति पु¥याएको चिकित्सकहरूले बताएका थिए।
घटनापछि उनलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरियो। चिकित्सकहरूले नसाको शल्यक्रिया गरे पनि अवस्था सुधार हुन सकेन। संक्रमण बढ्दै गएपछि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइयो।
परिवारका लागि त्यो यात्रा अन्तिम आशाको यात्रा थियो। चिकित्सकहरूले ज्यान जोगाउने अन्तिम प्रयासस्वरूप गोली लागेको बायाँ खुट्टा काट्नुपर्ने निर्णय सुनाए। बाबुआमाले भारी मनले त्यसमा सहमति जनाए। उनीहरूलाई लाग्यो—खुट्टा गुमे पनि छोरा बाँचे पुग्छ।
तर संक्रमण शरीरभर फैलिसकेको थियो। खुट्टा काटिएपछि पनि अवस्था नियन्त्रणमा आएन। अन्ततः मंगलबार उपचारकै क्रममा रवीन्द्रको मृत्यु भयो। रवीन्द्रसँगै घाइते भएका देवानगन्ज–३ का १८ वर्षीय अमित यादव अहिले पनि काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्। उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो। घटनामा घाइते भएका अन्य ६ जनाको विराटनगरस्थित न्युरो अस्पताल र विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनीहरूको अवस्था क्रमशः सुधारोन्मुख छ।
कप्तानगञ्जको उक्त हिंसात्मक घटनाले यसअघि नै दुई जनाको ज्यान लिइसकेको थियो। देवानगन्ज–४ का ओमप्रकाश मेहता र देवानगन्ज–३ का जयप्रकाश मेहताको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। रवीन्द्रको निधनसँगै मृतकको संख्या तीन पुगेको छ।
स्थानीयका अनुसार घटनाले गाउँको सामाजिक वातावरण नै बदलिदिएको छ। एउटै घटनामा तीन–तीन युवा गुमाउँदा परिवार मात्र होइन, सिंगो समुदाय शोकमा डुबेको छ। स्थानीय जुगेश दासका अनुसार मेहनती र भविष्य बोकेका युवाहरू गुमेपछि गाउँलेहरू अझै स्तब्ध छन्।
कप्तानगञ्ज गोलीकाण्ड अब केवल एउटा आपराधिक वा सुरक्षा घटनामा सीमित छैन। यसले प्रहरीको बल प्रयोग, भीड नियन्त्रण, राज्यको जिम्मेवारी र पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। घाइतेहरूको उपचार, मृतकका परिवारको क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग अझै सम्बोधन हुन बाँकी छ।
उता, रवीन्द्रको शव शिक्षण अस्पतालमै राखिएको छ। परिवार न्यायको सुनिश्चितता नहुँदासम्म शव नबुझ्ने अडानमा छ भने गृहमन्त्री स्वयं परिवारलाई सम्झाउने प्रयासमा छन्। तर एउटा सामान्य किसान परिवारका लागि सबैभन्दा ठूलो क्षति भने फिर्ता हुन सक्दैन।
कोरिया पुगेर परिवारलाई गरिबीबाट माथि उठाउने सपना देखेका रवीन्द्र अब कहिल्यै फर्केर आउने छैनन्। उनका अधुरा योजना, बाबुआमाको प्रतीक्षा, बहिनीको भरोसा र परिवारको भविष्य अहिले एउटा अस्पतालको शवगृह र न्यायको प्रतीक्षाबीच अल्झिएको छ। कप्तानगञ्जमा चलेको त्यो गोलीको आवाज थामिए पनि त्यसले छोडेको पीडा भने अझै समाप्त भएको छैन।

