नगरप्रहरीको घेरामा श्रमिकमाथि कुटपिट गरेको आरोपले घेरिए गौशालाका मेयर, पदीय शक्तिको दुरुपयोगको आरोप
महोत्तरी — गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोमाथि नगरप्रहरीको प्रयोग गरी एक श्रमिकलाई कुटपिट गराएको आरोप लागेको छ। गौशाला नगरपालिका–८ भण्टाबारीस्थित शुभ शिवम् वासिङ सेन्टरमा बिहीबार बिहान भएको भनाभनपछि करिब ३५ मिनेटमै नगरप्रहरीको टोलीसहित पुनः पुगेका मेयर महतोको उपस्थितिमा सोनमा गाउँपालिका–१ का ३६ वर्षीय सुशील अधिकारीमाथि कुटपिट भएको प्रत्यक्षदर्शीहरूको दाबी छ।
घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मेयरको कार्यशैली र नगरप्रहरीको प्रयोगबारे प्रश्न उठेको छ। घटना बिहान करिब सवा १० बजे सुरु भएको बताइएको छ। वासिङ सेन्टरको अनुगमनका क्रममा मेयर महतो र त्यहाँ मुन्सीका रूपमा कार्यरत अधिकारीबीच सामान्य भनाभन भएको थियो। त्यसपछि करिब पौने ११ बजे मेयर नगरप्रहरीको टोलीसहित पुनः वासिङ सेन्टर पुगेको र त्यही क्रममा अधिकारीमाथि कुटपिट भएको विवरण सार्वजनिक भएको हो।
प्रत्यक्षदर्शीका अनुसार नगरप्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो। उनीमाथि भएको कुटपिटमा मेयरकै निर्देशन रहेको आरोप लगाइएको छ। कुटपिटबाट अधिकारीको टाउको र मुखमा चोट लागेको बताइएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। भिडियोमा नगरप्रहरीको टोलीले एक व्यक्तिमाथि कुटपिट गरिरहेको देखिन्छ। यद्यपि कुटपिटको सम्पूर्ण घटनाक्रम, त्यसअघि भएको भनाभनको वास्तविक कारण र मेयरको प्रत्यक्ष संलग्नताको विषयमा सम्बन्धित निकायबाट विस्तृत आधिकारिक अनुसन्धान वा निष्कर्ष सार्वजनिक भइसकेको छैन।
घटनालाई लिएर महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले मेयरको शैलीप्रति आपत्ति जनाएका छन्। उनका अनुसार कुनै नागरिकबाट त्रुटि वा गैरकानुनी काम भएको भए त्यसको निरूपण कानुनी प्रक्रियाबाट हुनुपर्ने हो।
‘घटना जुनसुकै भए पनि कानुनी प्रक्रियामा जाने आधार छँदै थियो,’ सांसद महतोले भने, ‘तर लोकतान्त्रिक विधिविपरीत मेयरले दादागिरी शैली देखाएका छन्। पद, शक्ति र अधिकारको दुरुपयोग गरी सामान्य नागरिकमाथि गरिएको यो दुव्र्यवहार कदापि स्वीकार्य हुन सक्दैन।’
नगरपालिकाका जनप्रतिनिधिले कानुन कार्यान्वयन गर्ने संस्थाको नेतृत्व गर्ने अवस्थामा आफ्नै मातहतको नगरप्रहरीलाई व्यक्तिगत विवाद वा प्रतिशोधका लागि प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि घटनासँगै उठेको छ। कुनै व्यक्तिले कानुन उल्लंघन गरेको भए उजुरी, अनुसन्धान, पक्राउ, मुद्दा र अदालतसम्म पुग्ने औपचारिक प्रक्रिया विद्यमान हुँदाहुँदै बल प्रयोगमार्फत समस्या समाधान गर्ने शैलीले स्थानीय सरकारको जवाफदेहितामाथि प्रश्न उठाउने सरोकारवालाहरूको भनाइ छ।
मेयर महतोको कार्यशैलीलाई लिएर यसअघि पनि विवाद सार्वजनिक भएको विवरण छ। यसअघि निगौल गाई गौशालाका प्रमुख कान्ति पाण्डेमाथि नगरप्रहरी प्रयोग गरी आक्रमण गराइएको आरोप उनीमाथि लागेको थियो। त्यसैगरी जानकी एकेडेमिक हस्पिटलको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि मेयरकै उपस्थिति र निर्देशनमा हातपात भएको आरोपसमेत सार्वजनिक भएको थियो।
यी घटनाका विषयमा सम्बन्धित पक्षबाट फरक–फरक दाबी वा प्रतिक्रिया आउन सक्ने भए पनि पछिल्लो घटनाले एउटै प्रश्नलाई फेरि अगाडि ल्याएको छ—स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्ने सीमा कहाँसम्म हो र नगरप्रहरीजस्तो राज्य संयन्त्रलाई त्यस सीमाभन्दा बाहिर प्रयोग गरिएको अवस्थामा जवाफदेही को हुने?
मेयर महतो स्वयं स्वास्थ्यकर्मीसमेत हुन्। त्यसैले उनीमाथि लागेका यस्ता आरोपले व्यक्तिगत आचरण मात्र नभई निर्वाचित जनप्रतिनिधिको पदीय मर्यादा, स्थानीय सरकारको सुशासन र कानुन कार्यान्वयन गर्ने संयन्त्रको निष्पक्ष प्रयोगसँग सम्बन्धित प्रश्नसमेत जन्माएको छ।
पछिल्लो घटनामा अधिकारीमाथि कुटपिट किन भयो, भनाभनको वास्तविक कारण के थियो, नगरप्रहरीलाई कसको निर्देशनमा परिचालन गरिएको थियो र कुटपिटमा संलग्न व्यक्तिहरूमाथि कुनै कानुनी कारबाही अघि बढ्छ कि बढ्दैन भन्ने विषय भने आगामी अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।
तर, घटनाको भिडियो सार्वजनिक भएसँगै गौशालामा स्थानीय सरकारको अधिकार र त्यसको प्रयोगमाथि बहस चर्किएको छ। नागरिकमाथि कानुनी प्रक्रिया लागू गर्ने जिम्मेवारी बोकेको स्थानीय सरकारकै संयन्त्रबाट कथित रूपमा बल प्रयोग भएको हो भने त्यसको निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणले मात्रै घटनाप्रतिको वास्तविकता स्पष्ट पार्न सक्नेछ।

