रविसँगै जेलबाट भागेका फरार अभियुक्त ६१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ
रामेछाप — जेनजी आन्दोलनका क्रममा सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका २१ वर्षीय प्रेम बिसुंखे रामेछापमा ६१ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
चोरी मुद्दामा हिरासतमा रहेका बेला गत वर्ष भदौ २४ गते फरार भएका बिसुंखेले रामेछाप नगरपालिका–४ तिलबारीस्थित महिलाको घरमै पुगेर भदौ २ गते बलात्कार गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार हिरासतबाट भागेपछि बिसुंखे रामेछाप पुगेका थिए। त्यहाँ उनले लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। महिलामाथि बलात्कार गरेको आरोपपछि उनी घटनास्थलबाट फरार भएका थिए।
फरार बिसुंखेको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले भदौ ३ गते रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरेको हो। उनी कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिसुंखे चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा थिए। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहकारी ठगीलगायत मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएका थिए।
त्यसपछि देशभरका हिरासत तथा कारागारमा विद्रोह भयो र ठूलो संख्यामा कैदीबन्दी तथा थुनुवा भागेका थिए। त्यसैवेला विसुंखे पनि हिरासतबाट भागेर रामेछाप पुगेको र त्यहीँ बसेर मजदुरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिले ६१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धानसँगै बिसुंखेको विगत, हिरासतबाट फरार भएपछिको गतिविधि र रामेछापमा रहँदाको अवस्थाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

