आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा ट्राफिक प्रहरीमाथि हातपात, बानेश्वरबाट २७ वर्षीय युवक पक्राउ
काठमाडौँ— काठमाडौंको बानेश्वरमा आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा ड्युटीमा खटिएका दुई ट्राफिक प्रहरीमाथि हातपात भएको छ। हातपात गरेको आरोपमा २७ वर्षीय राज कठायत पक्राउ परेका छन्।
मंगलबार बिहान काठमाडौं–१० स्थित पुरानो संसद् भवननजिकै भएको घटनामा कठायतले पहिले महिला ट्राफिक प्रहरीसँग विवाद गर्दै हातपात गरेको र सम्झाउन पुगेका पुरुष ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेको प्रहरीले जनाएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं–१० बानेश्वरमा बस्दै आएका कठायतलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार ड्युटीमा रहेकी महिला ट्राफिक प्रहरीले सडकबाट जथाभावी बाटो काट्न खोजिरहेका कठायतलाई नजिकै रहेको आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सडक दुर्घटनाको जोखिम हुने भएकाले आकाशे पुलबाट बाटो काट्न सुझाव दिएपछि उनी प्रहरीसँग विवादमा उत्रिएका थिए।
‘ड्युटीमा खटिएकी ट्राफिक प्रहरीले आकाशे पुल नजिकै छ, जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस् भनेपछि कठायतले एक्कासि आक्रमण गरेको देखिन्छ,’ एसपी सुवेदीले भने।
महिला प्रहरीमाथि हातपात भएपछि घटनास्थलमा पुगेका पुरुष ट्राफिक प्रहरीले कठायतलाई सम्झाउन खोजेका थिए। त्यसक्रममा कठायतले उनीसँग पनि विवाद गर्दै हातपात गरेको प्रहरीले जनाएको छ।
घटनापछि कठायतलाई तत्काल नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले पनि घटनामा संलग्न युवक पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न कठायतमाथि थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक अवस्था, हातपातको कारण तथा घटनामा संलग्न व्यक्तिको गतिविधिबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान अघि बढाएको जनाएको छ।

