नेपालमा बाढी आउनुअघि चीनको केरुङ क्षेत्रमा भीषण पहिरो, चीनतर्फको सडक र सञ्चार अवरुद्ध

काठमाडौँ— नेपालमा भोटेकोशीमा अचानक आएको भीषण बाढीले ठूलो क्षति पु¥याइरहेका बेला नेपाल–चीन सीमा नजिकै चीनतर्फको केरुङ बन्दरगाह आसपास बुधबार ठूलो पहिरो गएको विवरण सार्वजनिक भएको छ।

चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै पहिरोमा केही व्यक्ति बेपत्ता भएको जनाएको छ। घटनाले नेपालमा आएको बाढी र चीनतर्फको प्राकृतिक विपत्तिबीच कुनै सम्बन्ध छ कि भन्ने प्रश्न उठाए पनि अहिलेसम्म दुवै घटनाबीच प्रत्यक्ष सम्बन्ध पुष्टि भएको छैन।

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से शहरको जिरोङ (केरुङ) काउन्टीमा पहिरो गएको हो। स्थानीय अधिकारीहरूका अनुसार पहिरोपछि प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन भइरहेको छ।

पहिरोका कारण चीनतर्फबाट केरुङ बन्दरगाह आउने सडक अवरुद्ध भएको छ। त्यससँगै केही क्षेत्रमा सञ्चार सेवा र विद्युत् आपूर्तिसमेत प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

जिरोङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम अघि बढाएको जनाएको छ। पहिरोमा कति व्यक्ति प्रभावित भए वा बेपत्ता छन् भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

यता, नेपालतर्फ बुधबार बिहान रसुवाको भोटेकोशीमा अचानक आएको बाढीले स्याफ्रुबेँसी, टिमुरे, रसुवागढीलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। बाढीपछि नेपालतर्फका सडक, पुल, प्रहरी संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।

नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीमा आएको बाढीबारे प्रारम्भिक रूपमा माथिल्लो क्षेत्रमा नदी थुनिएर एक्कासि खुलेको हुन सक्ने अनुमान गरिएको छ। यसअघि हिमपहिरोका कारण नदी थुनिएको र त्यसपछि पानीको ठूलो प्रवाह तलतर्फ आएको हुन सक्ने प्रारम्भिक आकलन सार्वजनिक भएको थियो।

तर बाढीको वास्तविक उत्पत्ति, नदी थुनिएको स्थान र चीनतर्फ भएको पहिरो तथा नेपालमा आएको बाढीबीचको सम्बन्धबारे आधिकारिक पुष्टि हुन बाँकी छ। त्यसैले केरुङ क्षेत्रमा गएको पहिरोलाई नै नेपालमा आएको बाढीको कारणका रूपमा निष्कर्ष निकाल्ने अवस्था छैन।

नेपालतर्फको बाढीको प्रभाव धादिङ हुँदै गजुरी, मलेखु तथा त्रिशूली नदी आसपासका क्षेत्रमा समेत देखिएको छ। बाढीका कारण सडक तथा पुलहरूमा क्षति पुगेको छ भने सुरक्षा निकाय र उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

यसैबीच, चीनतर्फ भएको पहिरोको विस्तृत कारण, क्षतिको परिमाण तथा बेपत्ता व्यक्तिको यकिन विवरण सार्वजनिक भएपछि मात्रै नेपालमा आएको बाढीसँग त्यसको सम्भावित सम्बन्धबारे थप स्पष्ट हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट