भोटेकोशी बाढीमा मृत्यु हुने ३१ पुगे, ७९ सुरक्षाकर्मी अझै सम्पर्कविहीन, लाङटाङ खोला आयोजना तहसनहस

काठमाडौँ– रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले मानवीय क्षतिसँगै सुरक्षा संरचना र जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥याएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार साँझ साढे ५ बजेसम्म बाढीमा परी ३१ जनाको मृत्यु भएको, ९३ जना घाइते भएको र ९३ जनाको उद्धार गरिएको छ । मृतकको पहिचान भने खुलिसकेको छैन ।

बाढीको सबैभन्दा गम्भीर असर सुरक्षाकर्मीमा परेको छ । प्रतिनिधिसभामा सरकारका तर्फबाट जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाका विभिन्न प्रहरी चौकीमा कार्यरत २६ प्रहरी, नौ सशस्त्र प्रहरी र नेपाली सेनाका ४४ गरी ७९ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जानकारी दिएका छन् । नेपाली सेनाका टिमुरे र मैलुङ पोस्टमा कार्यरत सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको उनले बताए ।

प्रारम्भिक विवरणअनुसार केही नेपाली नागरिकसमेत बाढीमा परी ज्यान गुमाएको सूचना प्राप्त भएको मन्त्री खनालले संसद्लाई जानकारी दिए । रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका सरकारी कार्यालयका कर्मचारी तथा केही स्थानीयसमेत सम्पर्कविहीन रहेको उनले बताए ।

सरकारका अनुसार बाढी बुधबार बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा अचानक आएको थियो । त्यसअघि बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसपछि हिमपहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको मन्त्री खनालले बताएका छन् । यद्यपि बाढीको वास्तविक कारणबारे थप प्रमाणीकरण आवश्यक रहेको सरकारको भनाइ छ ।

बाढीले रसुवाका टिमुरे, स्याब्रुवेशी, भित्रावती, त्रिशूली, बटार र देवीघाटलगायतका क्षेत्रमा क्षति पु¥याएको प्रारम्भिक विवरण छ । सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार संरचना, सरकारी तथा निजी भवन र अन्य भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको सरकारले जनाएको छ ।

यसैबीच, बाढीको प्रत्यक्ष चपेटामा परेको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना पूर्ण रूपमा तहसनहस भएको छ । आयोजना निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार आयोजनाको पावर हाउस बाढीले पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र कार्यरत करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन् ।

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट करिब एक सातापछि विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको थियो । तर बाढीले उत्पादन सुरु हुनै लाग्दा आयोजनाको मुख्य संरचनामै क्षति पु¥याएको हो ।

बाढी आउँदा आयोजना क्षेत्रमा कर्मचारी तथा मजदुर सुरुङभित्र कङ्क्रिट ढलानको काममा व्यस्त रहेको भट्टराईले बताए । उनका अनुसार मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ मजदुर त्यहाँ कार्यरत थिए । उनीहरू बिहानदेखि सम्पर्कमा आएका छैनन् ।

भट्टराईका अनुसार बाढीको पानी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको थियो । उनले आयोजनाको भौतिक क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी र मजदुरको अवस्थालाई तत्कालको मुख्य चिन्ताको विषय भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को अवस्था भएको बताएका छन् । आयोजना पुनर्निर्माण गर्न सकिने भए पनि सम्पर्कविहीन जनशक्तिको अवस्था पत्ता लगाउनु पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

उता बाढीको जोखिम भोटेकोशी र त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत बढेको छ । सरकारले रसुवा, धादिङ, गोरखा र चितवनका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यक परे तत्काल स्थानान्तरण हुन भनिएको छ ।

जोखिम क्षेत्रका बासिन्दासम्म सूचना पु¥याउन रिङटोन, एसएमएस, माइकिङ तथा सामाजिक सञ्जालमार्फत चेतावनी जारी गरिएको मन्त्री खनालले बताए । बाढीको बहाव बढ्न सक्ने भएकाले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

बाढीपछि प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । बैठकले प्रभावित नागरिकको खोजी तथा उद्धार, राहत वितरण र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित संयन्त्र परिचालन गरी खोज तथा उद्धार अघि बढाएको जनाएको छ । प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन नागरिक र सुरक्षाकर्मीको संख्या ठूलो रहेकाले उद्धार तथा खोजी अभियानलाई तीव्र बनाइएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै मोदीले मृतकप्रति समवेदना व्यक्त गरेका हुन् ।

मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका छन् । उद्धार तथा राहतका प्रयासमा भारतीय टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको उनको भनाइ छ ।

भोटेकोशीमा आएको बाढीको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ । मृतकको सनाखत, सम्पर्कविहीन सुरक्षाकर्मी तथा नागरिकको खोजी, जलविद्युत् तथा भौतिक संरचनाको क्षतिको मूल्यांकन र तल्लो तटीय क्षेत्रमा जोखिम न्यूनीकरणको काम एकसाथ अघि बढिरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट