भोटेकोशी बाढीको असरः भारततर्फ गण्डक नदीमा सात शव फेला, पहिचान खुल्न सकेन

काठमाडौँ– नेपालमा आएको भोटेकोशी बाढीमा बगेका शव तीव्र बहावसँगै भारत पुगेको आशंका भइरहेका बेला उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा नारायणी (गण्डक) नदीबाट सात शव फेला परेका छन्। भारतको महराजगञ्जमा चार र कुशीनगरमा तीन गरी सात शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेपछि मोटरबोट परिचालन गरी नदीबाट बाहिर निकालेको थियो।

फेला परेका शवलाई सम्बन्धित जिल्ला मुख्यालय पठाइएको जनाइएको छ। महराजगञ्जबाट फेला परेका चार शव महराजगञ्ज जिल्ला मुख्यालय र कुशीनगरबाट भेटिएका तीन शव कुशीनगर जिल्ला मुख्यालय पठाइएको विवरणमा उल्लेख छ।

तर हालसम्म ती शवको पहिचान खुल्न सकेको छैन। मृतकहरू कहाँका हुन् भन्ने पुष्टि नभएकाले उनीहरू नेपालमा आएको बाढीमा परेर बगेका व्यक्ति हुन् भन्ने विषय पनि भारतीय अधिकारीबाट औपचारिक रूपमा पुष्टि भइसकेको छैन।

बीबीसी हिन्दीले उद्धार स्रोतलाई उद्धृत गर्दै नेपालमा आएको भीषण बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावका कारण भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको जनाएको छ।

यसअघि नेपालतर्फ भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो। बाढीपछि नदीले बगाएर ल्याएका शव विभिन्न जिल्लामा फेला पर्ने क्रम जारी छ।

भोटेकोशी र त्यससँग जोडिएका नदी प्रणालीको बहाव भारततर्फ जाने भएकाले बाढीमा बेपत्ता भएका व्यक्तिका शव सीमापारि पुग्न सक्ने सम्भावना देखिएको छ। तर भारतमा भेटिएका सात शवको नेपालसँग प्रत्यक्ष सम्बन्ध रहेको हो वा होइन भन्ने यकिन पहिचान र आवश्यक अनुसन्धानपछि मात्र खुल्नेछ।

एसएसबीको उद्धार टोलीले नदीमा निगरानी बढाएको र नदीबाट शव फेला परेपछि उद्धार गरी सम्बन्धित प्रशासनलाई बुझाएको भारतीय विवरणमा उल्लेख छ। शवको पहिचानका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।

यस घटनाले नेपालमा भोटेकोशी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी र पहिचानको दायरा सीमापारिसम्म विस्तार गर्नुपर्ने अवस्था देखाएको छ। नेपाल र भारततर्फका सम्बन्धित निकायबीच सूचना आदानप्रदान र शव पहिचानको प्रक्रिया अघि बढेमा मृतकको वास्तविक पहिचान खुलाउन सहयोग पुग्न सक्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट