रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, भोटेकोसी तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

रसुवागढीभन्दा करिब १८ किलोमिटर माथि चीनतर्फ भोटेकोसीको जलाधार क्षेत्रमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना आएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले दिएका छन्।

जिल्ला प्रशासन कार्यालय रसुवाले पनि चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गरेको छ। ताल फुटेपछि भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको केही समयमै नेपालमा जानकारी आएको हो। उनले चिनियाँ पक्षबाट ‘२० मिनेटअघि मात्रै’ ताल फुटेको सन्देश प्राप्त भएको बताएका थिए।

रसुवाका सीडीओ नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको पुष्टि गरेका छन्। ताल कुन परिमाणमा फुटेको हो र त्यसबाट नेपालतर्फ भोटेकोसीको बहावमा कति प्रभाव पर्छ भन्नेबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यो घटना भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याइरहेका बेला भएको हो। यसअघि आएको बाढीपछि चीनतर्फको सीमावर्ती क्षेत्रमा पहिरोले नदी थुनेर नयाँ ताल बनेको थियो। उक्त तालमा पानीको सतह निरन्तर बढ्दै गएपछि चिनियाँ पक्षले त्यस क्षेत्रमा सञ्चालन भइरहेको उद्धार कार्यसमेत स्थगित गरेको थियो।

बीबीसीका अनुसार नेपाल–तिब्बत भूमि सीमास्थित ग्यारियोङ बन्दरगाहको माथिल्लो क्षेत्रमा पहिरोपछि बनेको तालमा पानीको मात्रा बढिरहेको चिनियाँ अधिकारीहरूले बताएका थिए। बाढीले बगाएर ल्याएको गेग्रान थुप्रिएपछि नदीको बहाव अवरुद्ध भएर उक्त ताल बनेको र पानी जम्ने क्रम तीव्र भएपछि चिनियाँ उद्धार टोलीलाई तत्काल काम रोक्न निर्देशन दिइएको थियो।

ताल फुटेपछि थप बाढी आउन सक्ने जोखिमका कारण चिनियाँ उद्धार टोलीलाई जोखिम क्षेत्रबाट करिब एक किलोमिटर पछाडि हटाइएको बीबीसीले जनाएको थियो। नदी थुनिएर बनेको तालको पानीको दबाब बढ्दै गएपछि बाँधजस्तो बनेको प्राकृतिक अवरोध फुट्ने सम्भावनालाई चिनियाँ पक्षले जोखिमका रूपमा लिएको थियो।

नेपालको बाढी पूर्वानुमान महाशाखाले पनि यसअघि नै भोटेकोसी नदीमाथि नदी थुनिएर ठूलो ताल बनेको र त्यसको पानी कुनै पनि बेला फुट्न सक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराएको थियो।

महाशाखाका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको थियो। तर चीनतर्फ नदी थुनिएर बनेको ताल विस्तार भइरहेको र फुट्ने जोखिमसमेत देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा थप सावधानी आवश्यक रहेको जनाइएको थियो।

चीन सरकारबाट प्राप्त सूचना, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको र त्यसको आकार बढ्दै गएको महाशाखाले जनाएको थियो। ताल फुटेमा भोटेकोसीको बहाव एक्कासि बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो।

महाशाखाले भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य उद्धारकर्तालाई नदी किनारबाट टाढा रहन र विशेष सतर्कता अपनाउन अनुरोध गरेको थियो।

चीनतर्फ ताल फुटेको पछिल्लो सूचनापछि अब त्यसको पानी नेपालतर्फ कति मात्रामा र कति समयमा आइपुग्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। भोटेकोसीको बहाव, नदीको तल्लो तटीय बस्ती तथा यसअघि बाढीबाट प्रभावित क्षेत्रमा यसको सम्भावित प्रभावबारे नेपाली सुरक्षा तथा प्रशासनिक निकायले निगरानी बढाउनुपर्ने अवस्था देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट