माटोमुनिबाट आएको आवाज पछ्याउँदा ६ वर्षीया बालिका भेटिईनः जीवितै उद्धार
काठमाडौँ– रसुवाको टिमुरेमा बाढी–पहिरोले पुरिएको ठाउँबाट करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार साँझ खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट आएको रोएको आवाज सुनेपछि खोजी गर्दा बालिकालाई अचेत अवस्थामा फेला पारेको हो।
बाढी–पहिरो गएको दोस्रो दिन साँझ करिब सवा ६ बजे बालिकाको आवाज सुनिएको थियो। आवाज आएतर्फ तत्काल खोजी अघि बढाउँदा माटोले पुरिएको अवस्थामा बालिका भेटिएकी थिइन्।
सीमा सुरक्षा चौकी टिमुरेबाट सईको कमान्डमा परिचालित ६ सदस्यीय सशस्त्र प्रहरी टोलीले बालिकालाई माटोबाट बाहिर निकालेर चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिकाको अवस्था गम्भीर रहेको र उनी अचेत अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
चौकीमा ल्याएपछि बालिकालाई तत्काल न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरबाट सुरक्षित स्थानमा लैजाने तयारी गरिएको छ।
तर रात परिसकेकाले तत्काल हेलिकप्टर उडान गर्न सम्भव नभएको जनाइएको छ। त्यसैले बालिकालाई चौकीमै आवश्यक प्राथमिक हेरचाहसहित राखिएको छ र मौसम तथा उडानको अवस्था अनुकूल भएपछि थप उपचारका लागि पठाउने पहल भइरहेको छ।
टिमुरे क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएपछि सुरक्षाकर्मीले जोखिम मोलेर खोजी तथा उद्धार जारी राखेका छन्। माटोमुनिबाट बालिकालाई जीवितै निकालिनुले विपद्पछि हराइरहेका तथा पुरिएका व्यक्तिको खोजीमा उद्धार टोलीले खोजीलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि देखाएको छ।
बालिकाको परिचय र उनी बाढी–पहिरोमा कसरी पुरिइन् भन्नेबारे भने तत्काल थप विवरण सार्वजनिक भएको छैन।

