शिक्षण अस्पतालमा आफन्तको भीड, भोटेकोशी बाढीले बेपत्ता बनाएकाको खोजीमा परिवारको छटपटी
काठमाडौँ— रसुवा–नुवाकोट क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि आफन्तको कुनै खबर नपाएका परिवारहरू काठमाडौंको शिक्षण अस्पतालमा आफ्ना मान्छेको पहिचान खोज्दै दिनरात भौँतारिइरहेका छन्। बिहीबारसम्म नेपाल प्रहरीको महाराजगन्जस्थित सहायता डेस्कमा १ हजार १९२ जनालाई बेपत्ता भन्दै नाम टिपाइएकोमा शुक्रबार साँझ ६ बजेसम्म थप करिब ४ सय जनाको विवरण थपिएको छ।
अस्पताल परिसरमा कोही हातमा आफन्तको तस्बिर बोकेर घाइते तथा उद्धार गरिएकाको विवरण खोजिरहेका छन्, कोही शव पहिचान हुने आशामा अस्पतालका भित्तामा टाँसिएका पोस्टर नियालिरहेका छन्।
बाढीले घर, गाउँ र रोजगारीको थलोबाट मानिसहरूलाई अलग पारेपछि उनीहरूका परिवारका लागि अहिले एउटै प्रश्न बाँकी छ—आफ्ना मान्छे कहाँ छन? शिक्षण अस्पताल पुगेका आफन्तमध्ये धेरैसँग न मृत्युको पुष्टि छ, न जीवित रहेको कुनै सूचना। त्यसैले खोजीको आशा र अनिश्चितताको पीडा एउटै परिसरमा देखिन्छ।
‘भाइ भेटिन्छ कि भन्ने आस छ’
कीर्तिपुरबाट शिक्षण अस्पताल पुगेका फुर्वा तामाङ र पेमलामा तामाङको हातमा ४३ वर्षीय तेन्जिङ तामाङको फोटोसहितको पोस्टर थियो। उनीहरू २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा काम गर्ने तेन्जिङको अवस्था बुझ्न अस्पताल पुगेका थिए।
तेन्जिङ बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। उनका दाइ फुर्वाका अनुसार तेन्जिङ आयोजनाको टनेलमा लेबरको काम गर्थे। बाढी आउनुअघि घरमा रहेकी पत्नीलाई आफू आयोजनाको कामका लागि पुगेको जानकारी गराएका थिए। त्यसपछि उनको कुनै खबर आएको छैन। फुर्वाले घाइतेहरूलाई अस्पताल ल्याइँदै गरेको सुनेपछि भाइ भेटिने आशामा अस्पताल आएको बताए।
पेमलामाका अनुसार तेन्जिङले बाढी आएको दिनदेखि नै आयोजनामा काम सुरु गरेका थिए। ‘मामा काम सुरु गरेकै दिन त्यस्तो घटना भएर सम्पर्कविहीन हुनुभयो,’ उनले भनिन्। आयोजनाबाट बेपत्ता भएकाहरूको सूचीमा समेत तेन्जिङको नाम नरहेको परिवारको भनाइ छ।
प्रहरी जवान ज्वाइँ र छोरीको खोजीमा आमा
शिक्षण अस्पतालको सहायता डेस्कमा आफ्नो ज्वाइँ र छोरीको विवरण टिपाउन आएकी थिइन् चितवनको कुरिनटारकी शारदा प्रजा। उनका ज्वाइँ प्रहरी जवान हुन् र तीन वर्षदेखि रसुवाको मैलुङमा कार्यरत थिए। छोरी पनि उनीसँगै बस्दै आएकी थिइन्।
शारदाका अनुसार मंगलबार राति ११ बजेसम्म छोरीसँग कुराकानी भएको थियो। ज्वाइँ राति १२ बजे ड्युटी सकेर डेरामा फर्किएको जानकारी पनि उनले पाएकी थिइन्। त्यसपछि भने दुवैको कुनै खबर छैन।
‘त्यसपछि कुनै पनि जानकारी भएन। प्रहरीमा पनि रिपोर्ट गरेकी छु। केही पत्ता लागेको छैन,’ उनले भक्कानिँदै भनिन्।
छोरी र ज्वाइँको फोटोसहितको पोस्टर उनले अस्पतालको भित्तामा टाँसेकी छन्। बाढीले सुरक्षाकर्मीलाई समेत बेपत्ता बनाएपछि परिवारले आफ्नै प्रहरी संयन्त्रमार्फत पनि खोजीको आशा गरिरहेका छन्।
मोबाइलले ९ः०३ बजेसम्म देखायो, त्यसपछि कुनै संकेत छैन
रसुवाको स्याफ्रुबेँसी बजारनजिकै लाङटाङ हाइड्रोपावरमा काम गर्ने बैतडीका २४ वर्षीय केशव विष्ट पनि भदौ १० गतेदेखि सम्पर्कविहीन छन्। उनलाई खोज्दै उनका ठुलोबुबाका छोरा विनोद विष्ट शिक्षण अस्पताल पुगेका छन्।
विनोदका अनुसार केशव आठ महिनादेखि आयोजनामा कार्यरत थिए। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले घर सम्हाल्ने जिम्मेवारीसमेत उनकै काँधमा थियो। उनी परिवारका जेठा छोरा हुन्।
केशवको मोबाइल ट्रयाक गर्दा भदौ १० गते बिहान ९ः०३ बजेसम्म टावरसँग कनेक्सन देखिएको विनोदले बताए। त्यसपछि मोबाइलबाट कुनै संकेत प्राप्त भएको छैन। अघिल्लो दिन भदौ ९ गते केशवले अन्तिमपटक आमासँग कुराकानी गरेका थिए।
केशवसँगै लाङटाङ हाइड्रोपावरमा काम गर्ने १३ जनाको टोली नै सम्पर्कविहीन भएको परिवारले जानकारी पाएको छ। विनोदका अनुसार ठेकेदार कम्पनीसँग बुझ्दा पावरहाउसमा काम गर्ने उनीहरूसहित १३ जना क्याम्प आसपासमा रहेको र त्यसपछि सबै बेपत्ता भएको जानकारी दिइएको थियो।
उनका अनुसार टनेलमा कार्यरत ती १३ जनासहित आयोजनामा कुल २४ जना सम्पर्कविहीन रहेको जानकारी परिवारले पाएको छ। ‘उद्धार भइरहेको भन्ने सुनेका छौँ। हामीले खोजीको अधिकतम प्रयास गरिरहेका छौँ। सबैले प्रयास गरिदिनुहोला,’ विनोदले आग्रह गरे।
कैलाश मानसरोवर जाने समूहसँगै सम्पर्क टुट्यो
आफ्ना छोरा गोविन्द थापामगरको खोजीमा शिक्षण अस्पताल पुगेकी जानुका खत्रीको पीडा पनि उस्तै छ। उनका छोरा पर्यटकहरूको समूहसँग कैलाश मानसरोवरतर्फ जाँदै थिए। जानुकाका अनुसार उक्त समूहमा १३ नेपाली र ५८ युक्रेनी नागरिक थिए। चीनको सीमा पार गर्ने क्रममा भदौ १० गते बिहान ८ः४० बजेसम्म गोविन्दसँग सम्पर्क भएको थियो। त्यसपछि समूहका सदस्यसँग सम्पर्क टुटेको उनले बताइन्।
रसुवाबाट केही शव अस्पताल ल्याइएको र थप शव आउन लागेको सुनेपछि छोरा भेटिने आशामा उनी शिक्षण अस्पताल पुगेकी हुन्।
पर्यटक छाडेर टिमुरे फर्किएका चालक पनि बेपत्ता
दोलखाको कालिञ्चोक गाउँपालिका–७ का भूपेन्द्र खड्का पनि बाढीपछि सम्पर्कविहीन छन्। उनी केरुङ जाने पर्यटक बोकेको बस चलाएर टिमुरे फर्किएका थिए। उनका दाइ सीताराम खड्का शिक्षण अस्पतालमा भाइको खोजीमा थिए।
सीतारामका अनुसार भूपेन्द्रले भदौ ८ गते केरुङ नाकामा पर्यटक छाडेका थिए। त्यसपछि टिमुरे आएर बसेका थिए र भदौ ९ गते पनि टिमुरेमै थिए। भदौ १० गते बिहान ७ः४७ बजेसम्म परिवारसँग उनको सम्पर्क थियो।
अन्तिम कुराकानीमा उनले पहिरो गएको र तत्काल फर्किन सक्ने अवस्था नरहेको बताएका थिए। बाटो खुलेपछि पर्यटक लिएर फर्किने योजना रहेको उनले बताएका थिए। त्यसपछि आएको विपद्सँगै सम्पर्क टुटेको सीतारामले बताए।
भूपेन्द्रले चलाएको अरनिको सुपर गाडीमा रहेका भारतीय पर्यटकका सहचालकसमेत सम्पर्कविहीन छन्। परिवारले शिक्षण अस्पताल, वीर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उनीहरूको विवरण टिपाएको जनाएको छ।
एकै डेस्कमा बढ्दै छ बेपत्ताको सूची
भोटेकोशी बाढीमा आफन्त गुमाएका परिवारका लागि शिक्षण अस्पताल अहिले खोजीको प्रमुख थलो बनेको छ। नेपाल प्रहरीले महाराजगन्जस्थित प्रहरी वृत्तको समन्वयमा भदौ १० गतेदेखि अस्पताल परिसरमा छुट्टै सहायता डेस्क सञ्चालन गरिरहेको छ।
डेस्कमा आफन्तले बेपत्ता व्यक्तिको नाम, फोटो र उपलब्ध विवरण टिपाउने गरेका छन्। बिहीबारसम्म १ हजार १९२ जना बेपत्ता भएको विवरण दर्ता भएको थियो। शुक्रबार साँझ ६ बजेसम्म मात्रै थप करिब ४ सय जनाको नाम सूचीमा समावेश भइसकेको प्रहरीले जनाएको छ।
डेस्कमा विवरण दर्ता गराउन आउने आफन्तको संख्या अझै बढिरहेको छ। यसले बाढी प्रभावित क्षेत्रमा वास्तविक रूपमा कति मानिस सम्पर्कविहीन छन् भन्ने यकिन गर्नसमेत चुनौती थपिएको छ।
‘गाउँका १५० भन्दा बढी बेपत्ता छन्’
रसुवाको नौकुण्ड गाउँपालिकाको एउटा गाउँ नै अहिले बेपत्ताको खबरले शोकमा डुबेको छ। आफन्त र गाउँलेको अवस्था बुझ्न शिक्षण अस्पताल आएका जितबहादुर घलेका अनुसार घट्टेखोलामा होटल सञ्चालन गरेर बस्ने उनका काकाकाकीसमेत बाढीपछि बेपत्ता छन्।
घलेले नौकुण्ड आसपासका १५० भन्दा बढी दाजुभाइ तथा दिदीबहिनी बेपत्ता भएको दाबी गरे। बाढीबाट जोगिन दौडेर घट्टेखोलाभन्दा माथि दुधकुण्डको जंगलतर्फ पुगेका १६–१७ जना भने सुरक्षित रहेको खबर आफूले पाएको उनले बताए।
दुधकुण्ड रसुवागढीबाट करिब २०–२५ मिनेटको दूरीमा रहेको उनले बताए। तर त्यहाँ विद्युत् र मोबाइल सेवा नभएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको उनको भनाइ छ। ‘सरकारले छिटोभन्दा छिटो उद्धार गर्नुपर्यो। आज तीन दिन भइसक्यो। बत्ती छैन, मोबाइल छैन। खान पाएका छैनन्। सायद एकदम बिजोग छ,’ उनले भने।
घलेका अनुसार स्थानीय सरकार, प्रशासन र काठमाडौंमा रहेका आफन्तले समेत खोजीका लागि प्रयास गरिरहेका छन्। तर बेपत्ता भएकाहरूको अवस्थाबारे ठोस सूचना प्राप्त हुन सकेको छैन। ‘हामी दुःखी र भावविह्वल छौँ। आफन्त गुमाएका भाइबहिनी र छोराछोरी रोइरहेका छन्। ‘मेरो बाबा खोइ, आमा खोइ’ भनिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा कि लास चाहियो कि मान्छे।’
बर्दियाबाट काम गर्न गएका सातजनाको अत्तोपत्तो छैन
बाढीले रोजगारीका लागि रसुवा पुगेका मजदुर परिवारलाई पनि अनिश्चिततामा धकेलेको छ। बर्दियाको गेरुवा गाउँपालिका–२ बाट काम गर्न रसुवा पुगेका सात जना भदौ १० गतेदेखि सम्पर्कविहीन छन्।
बेपत्ता हुनेमा राजकुमार थारू, नरेन्द्र थारू, पञ्चराम थारू, निदेशकुमार थारू, विकास थारू, सन्तोष न्यौपाने र पदम चौधरी छन्। निमेष न्यौपानेका अनुसार उनीहरू ठेकेदार कम्पनी घताल ग्रुप कन्स्ट्रक्सनमार्फत रसुवा पुगेका थिए। उनीहरू भवन निर्माणको काममा संलग्न थिए। नजिकै अर्को साइटमा काम गर्ने गाउँकै चार जना भने सम्पर्कमा आइसकेका छन्, तर यी सातजनाको अवस्थाबारे अहिलेसम्म कुनै सूचना छैन।
उनीहरू करिब सात महिनादेखि रसुवामा काम गर्दै आएका थिए। २५ देखि ३५ वर्ष उमेर समूहका ती मजदुरको खबर नआएपछि बर्दियामा रहेका परिवार र आफन्तमा चिन्ता बढेको निमेषले बताए। ‘उहाँहरूबारे केही जानकारी भएन। म यतै काठमाडौं बस्ने भएकाले यहाँ बुझ्न आएको,’ उनले भने।
रसुवा–नुवाकोटको बाढीले छिन्नभिन्न पारेका परिवारका लागि अहिले शिक्षण अस्पतालको एउटा सहायता डेस्क आशाको केन्द्र बनेको छ। तर बढ्दै गएको बेपत्ताको सूची, टाढा र विकट भूगोल, अवरुद्ध सञ्चार तथा क्षतिग्रस्त क्षेत्रमा खोजीको कठिनाइले प्रत्येक परिवारको प्रतीक्षा लम्बिँदै गएको छ।

