बाढीपीडितका नाममा ‘१ लाख २० हजार’को नक्कली भौचर, आफ्नै क्युआर कोडबाट रकम उठाएको आरोपमा रास्वपा नेता पक्राउ
काठमाडौँ — बाढीपीडितका लागि आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै च्याटजीपीटीबाट तयार पारेको नक्कली भौचर तयार गरी सार्वजनिक गरेको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा आफ्नै क्युआर कोडमार्फत रकम उठाउन खोजेको आरोपमा रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका–२ का ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरेको छ।
प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले बाढीपीडितका लागि सहयोग गरेको दाबी गर्दै १ लाख २० हजार रुपैयाँको भौचर सार्वजनिक गरेका थिए। अनुसन्धानका क्रममा उक्त भौचर वास्तविक नभई च्याटजीपीटीको प्रयोग गरेर तयार पारिएको नक्कली कागजात भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कार्कीले आफूले सहयोग गरेको देखाउन सामाजिक सञ्जालमा उक्त नक्कली स्टेटमेन्ट तथा भौचर सार्वजनिक गरेका थिए। त्यसमाथि उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा आफ्नै क्युआर कोडसमेत सार्वजनिक गरेको र सोही माध्यमबाट रकम संकलन तथा ठगी गर्ने प्रयास गरेको आरोप प्रहरीले लगाएको छ।
कार्कीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। उनीमाथि नक्कली विवरण सार्वजनिक गरी सर्वसाधारणलाई भ्रममा पारेको तथा बाढीपीडितका नाममा रकम उठाउने प्रयास गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय एक नेताका अनुसार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोकुलगंगा गाउँपालिका कार्यसमितिका सहसचिव हुन्। उनले स्थानीय तह निर्वाचन २०८४ का लागि पार्टीको ‘क्यान्डिडेट क्लब’मा सहभागी हुने भन्दै पोस्टरसमेत सार्वजनिक गरेका थिए।
आफ्नै क्षेत्रमा ठूलो रकम सहयोग गरेको भन्दै कार्कीले प्रचार गरेपछि पार्टीभित्रैबाट उनको गतिविधिबारे सूचना प्रहरीसम्म पुगेको एक स्थानीय नेताले बताए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको उनको भनाइ छ।
कार्कीले वास्तविक रूपमा कुनै रकम सहयोग गरेका थिए कि थिएनन् तथा क्युआर कोडमार्फत कति रकम संकलन भएको थियो भन्ने विषयमा भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रहरीले नक्कली भौचर निर्माण, सार्वजनिक प्रचार तथा क्युआर कोडमार्फत रकम उठाउने प्रयाससम्बन्धी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


