बुद्धचित्तको लेनदेनमा कुरा नमिलेपछि अपहरण, बन्धक बनाएर कुटपिट, २ जना पक्राउ

काठमाण्डौ– बुद्धचित्तको लेनदेनमा कुरा नमिले पछि काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काभ्रे तेमाल गाउँपालिका घर भई बौद्ध बस्ने ३६ वर्षीय आशालाल लामा र सामाखुसी बस्ने ३३ वर्षीय भोज लामालाई प्रहरीले पक्राउ गरेको हो।
काभ्रे तेमाल गाउँपालिका–७ घर भई भक्तपुरको राधेराधे बस्ने २५ वर्षीय देवसिंह लामाको अपहरण गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार देवसिंहलाई सोमबार ५ बजे भक्तपुरको मध्यपुर ठिमीबाट अपहरण गरी काठमाडौंको गोंगबुस्थित द बर्गर हाउसमा बन्धक बनाइएको थियो।
प्रहरीले करिव राति ८ बजे उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ। ढुंगेलका अनुसार देवसिंहलाई सुरूमा भक्तपुरमा मोटरसाइकलमा राखेर लगिएको थियो। पछि ट्याक्सीमा हालेर नयाँ बसपार्क पु¥याएर कुटपिट गरेका पाईएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आशालालले बुद्धचित्तका लागि देवसिंहलाई बैना दिएका थिए। तर, देवसिंहसँग एक जना चिनियाँ नागरिकले बुद्धचित्त किनेका थिए। त्यही विषयमा उनीहरूबीच विवाद भएको थियो। सुरूमा आफूहरूले बैना गरेको हुँदा ९ लाख फिर्ता मागेका थिए। पैसा फिर्ता नभएपछि अपहरण बन्धक वनाईएको हो।
पीडितले ८ जनाविरूद्ध जाहेरी दिएका छन्। उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
के हो बुद्धचित्त ?
बुद्धचित्त, बोधीचित्त अर्थात् बुद्धमाला वयर प्रजातीको वनस्पति हो। पोथ्रो जातको बुद्धचित्तको रुख झट्ट हेर्दा बयरको झाडी जस्तै देखिन्छ । बयर प्रजातिको यो रुख नेपालमा मात्रै हुन्छ । बयरको जस्तै दाना फल्छ र त्यही दाना बुद्ध धर्मालम्बिहरुले मालाको रूपमा लगाउँछन् ।
बुद्धचित्तको दानाको बजार मूल्य नसोचेको छ, मुखबोलाऊ मूल्य छ । किसानले जति बढाएर लिन सक्यो त्यति मूल्य पाउँछन् । व्यापारीले जति घटाउन सक्यो त्यति घटाएर लिन्छ । किसान आफ्नो भाउमा अडिन सके भने अथाह मूल्य पाउँछन् । नभए पनि राम्रै मूल्य पाउँछन् ।