अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न अदालतको आदेश, सुनुवाई जारी

काठमाण्डौं– इँटाभट्टामा जिउँदै मान्छे पोलेर मारेको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ। आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो।

बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ।

नेपाल सरकारले मुद्दा नचलाउन गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि आलमको मुद्दा दर्ता भई उनी पुर्पक्षका लागि थुनामा छन्। बुधबारको इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ।

यो मुद्दाको थुनछेक बहसपछि आलम ०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।

चुनावमा प्रयोग गर्नका लागि भारतबाट ल्याइएका मानिसबाट बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। सो घटना लुकाउनका लागि उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

चुनावमा बुथकब्जा गर्न ल्याइएका बम विस्फोटमा केही मारिएका थिए भने केही घाइते भएका थिए। विस्फोटबाट क्षति पुगेको गोठ तत्कालै मर्मत गरिएको थियो भने घाइतेलाई पोलिएको भनिएको इँटाभट्टा केही वर्षपछि बन्द भएको थियो।

आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते जिल्ला अदालत गौरमा तीनवटा मुद्दा दर्ता भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट