खाल्टो खनेर धरापमा पारी तस्करले यसरी मारे चितवन राष्ट्रिय निकुञ्जमा २ गैंडा

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा खाल्टो खनेर धरापमा पारी तस्करले दुईवटा एकसिङ्गे गैंडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेको जनाईएको छ।

एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको निकुन्जले जनाएको छ। तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको निकुन्जका सूचना अधिकारी गणेश तिवारीले बताए।

दुर्लभ गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ। सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिएको छ।

व्यवसायिक तस्करहरुले तिहारको मौका पारी योजनावद्ध रुपमा गैंडा मार्न सफल भएको देखिएको तिवारीले बताए। गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो। गैंडा मर्नुमा निकुञ्ज प्रशासनको लापरवाही देखिएको एक संरक्षण अधिकृतले बताए।

धरापमा पार्न खाल्डो खनुन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु आश्चर्य भएको उनको भनाई छ।

सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट