केपी ओलीकै योजनामा दुर्गा प्रसाईँको प्रदर्शनः प्रमोशनका लागि युवासंघ परिचालन
राजविराज– कांग्रेस निकट हुँदै माओवादी, एमाले र त्यसपछि राजावादी भएका विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईका कारण यतिवेला राजनीति तरंगित भएको छ। खास गरी उनले राजधानीमा गर्न लागेको मंसिर ७ गतेको प्रदर्शन र एमालेको भातृ संगठन युवासंघले आयोजना गरेको काउण्टर प्रदर्शनका कारण राजनीति तातेको हो।
प्रसाईँले राजतन्त्र पुनःस्थापना र हिन्दू राज्यको मुद्दा उचाल्न थालेका छन्। बैंक तथा वित्तिय संस्थाको ब्याजमिनाहा हुनुपर्ने वकालत गर्ने तथा यिनै एजेन्डामा केन्द्रीत भएर आराजक तर निरन्तर अभिव्यक्ति दिन थालेपछि आफ्नो पछाडि निकै ठुलो भिड जम्मा गरेका छन्।
प्रसाईँले पूर्वराजा ज्ञानेन्द्रसँग हिमचिम बढाएर व्यवस्था फेर्ने कुरा गरिरहेका छन्। यतिमात्रै होईन, एमाले नेता केपी शर्मा ओलीलाई हजुबा भन्ने प्रसाईँ अहिले उनैमाथि खनिइरहेका छन्।
प्रसाईँ र एमालेबीचको सम्बन्ध बिग्रिएर कालोमोसो दल्नेदेखि तोडफोडसम्म पुग्यो। प्रसाईँले हरेक दिन एमाले र एमाले नेताहरुलाई गाली गर्दै आएका छन्। जसका कारण एमाले पनि प्रसाईँले गर्न लागेको प्रदर्शनको काउन्टरमा देखाइदिने भन्दै छुट्टै प्रदर्शनको आयोजना गर्ने स्थितिमा आइपुगेको छ।
तर, कतिपयले भने प्रसाईँको यो प्रदर्शनलाई ओलीकै योजनका रुपमा पनि अर्थ्याईरहेका छन्। शनिबार एमालेको विशेष बैठकले युवा संघको आन्दोलनको स्वामित्व लिएर झन आश्चर्यको काम गरेको छ। राजनीतिक रूपमा बलियो आधार बनाएर पटकपटक मुलुक हाँक्ने अवसरसमेत लिइसकेको दलले एउटा सामान्य प्रदर्शन गर्ने तयारीमा रहेको व्यक्तिसँग भिड्न कार्यक्रम नै जुधाउने मानसिकतामा पुग्नुले त्यो तर्कलाई अझै बल दिएको छ।
प्रसाईँलाई कहाँ, कसरी, कति भाउ दिनु पर्छ भन्नेबारे एमाले र अध्यक्ष ओली जानकार छन । तर, एमालेले अहिले सित्तैमा प्रसाईँ समूहको बजारीकरण गरिदिएको छ। यसअर्थमा एमालेले प्रसाईँलाई टक्कर दिएको होइन, नियोजितरुपमै प्रमोसन गरिहेको जानकारहरु वताउँछन्।
एमालेभित्र पटक–पटक संघीयता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेकै छ । एमाले अध्यक्ष ओलीको विश्वासपात्र मानिने महेश बस्नेत र गोकुल बास्कोटाले नै पार्टीका औपचारिक बैठकहरुमा यी कुरा उठाइरहेका छन् । अहिले पनि प्रसाईँ–बस्नेत भिडेको जस्तो देखाएर व्यवस्थाविरुद्धको मुद्दालाई झन् पेचिलो बनाउन खोजिएको उनीहरु बताउँछन्।
गत वर्ष १ फागुनमा पसाईँले झापामा पूर्वराजपरिवारका सदस्यलाई उतारेर राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ महाअभियानको घोषणा गरेका थिए। एमाले केन्द्रिय सदस्य हुँदै उनले पूर्वराजाबाट कार्यक्रम उद्घाटन गराएपछि एमालेको आलोचना भयो। त्यसपछि उनलाई एमालेले पार्टीबाट निकाल्यो। प्रसाईले त्यतिवेला ‘मलाई हजुरबाले नै आन्दोलनमा पठाएको’ भन्दै अभिब्यक्ति दिएका थिए।
यसले पनि शंका ‘एमालेले प्रसाईँलाई घुमाउरो पारामा प्रयोग गरिरहेको’ र प्रसाईँको प्रमोसन गरिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।