एउटा पुरानो तस्बिरको विवादले रास्वपा–राप्रपा भिडन्तः ज्ञानेन्द्र शाहीले जापानबाटै ‘आगो ओकले’– ‘रिसमा वेद पढिँदैन’
काठमाडौँ– संसदमा उठाएको एउटा प्रश्न, सामाजिक सञ्जालमा भाइरल बनाइएको एउटा पुरानो तस्बिर, त्यसपछि सुरु भएको आरोप–प्रत्यारोप, जापानबाट गरिएको आक्रोशपूर्ण फेसबुक लाइभ र त्यसले जन्माएको राजनीतिक तरंग। यही प्रकरणले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही सामाजिक सञ्जाल र राजनीतिक ध्रुवीकरणको केन्द्रबिन्दुमा छन्।
घटनाक्रमको सुरुवात संसदबाट भयो। केही दिनअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले कर्णाली प्रदेशमा भीरमा अड्किएर एक युवाको मृत्यु भएको घटनालाई उठाउँदै प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कडा प्रश्न गरेका थिए। सरकारको कार्यक्षमता र जिम्मेवारीमाथि प्रश्न उठाएको उनको भाषण सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो। तर त्यससँगै उनी रास्वपा समर्थकहरूको आलोचनाको निशानामा पनि परे।
त्यसपछि सामाजिक सञ्जालमा शाहीविरुद्ध विभिन्न सामग्रीहरू प्रसारित हुन थाले। तीमध्ये सबैभन्दा चर्चित बन्यो दुबईमा खिचिएको एउटा पुरानो तस्बिर। उक्त तस्बिरमा शाहीसँग देखिएकी एक महिलालाई उनकी श्रीमती भएको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्रीहरू फैलाइए। यही घटनाले शाहीलाई सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य बनायो।
जापान भ्रमणमा रहेका शाहीले फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफूविरुद्ध चरित्रहत्या अभियान चलाइएको आरोप लगाए। उनले तस्बिरमा देखिएकी महिला दुबईमा इमानदारीपूर्वक काम गरिरहेकी नेपाली चेली भएको दाबी गर्दै उनको व्यक्तिगत जीवन र प्रतिष्ठामाथि आघात पुर्याउने प्रयास भएको बताए। त्यही स्टाटसमा उनले रास्वपा समर्थकलाई लक्षित गर्दै ‘सबै मानिस तिम्रो पार्टीका नेताजस्तो बारम्बार बिहे गर्ने खालका हुँदैनन’ भन्ने वाक्य प्रयोग गरे। यो वाक्यले विवादलाई अझ चर्कायो।
शाही जापानमा कर्णाली प्रवासी संघको निमन्त्रणामा पुगेका थिए। त्यहाँ रहँदा अर्को घटनाले पनि चर्चा पायो। सामाजिक सञ्जालमा शाहीलाई ओशाकामा प्रवासी नेपालीहरूले लखेटेको दाबी गर्दै सामग्रीहरू फैलाइयो। तर शाहीले आफू ओशाका नै नपुगेको दाबी गरे। उनले ती सामग्रीलाई योजनाबद्ध अफवाहको संज्ञा दिए।
यसैबीच जापानमा आयोजित एक कार्यक्रममा शाही र रास्वपाका सांसद खगेन्द्र सुनार एउटै मञ्चमा उपस्थित भए। कार्यक्रममा बोल्ने क्रममा शाहीले सुनारलाई संकेत गर्दै गरेको टिप्पणी फेरि विवादको कारण बन्यो। उनले आफू मन्त्रीहरूसँग ‘आँखा जुधाएर र औँला ठड्याएर पनि प्रश्न गर्ने’ व्यक्ति भएको अभिव्यक्ति दिए। उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बन्यो र रास्वपा समर्थकहरूको आलोचना झन् तीव्र बन्यो।
आलोचनाको वर्षा बढ्दै गएपछि शाहीले फेसबुक लाइभमार्फत प्रत्यक्ष जवाफ दिने निर्णय गरे। लाइभमा उनले प्रयोग गरेको भाषा र शैली भने संसद सदस्यको मर्यादासँग मेल खान्छ कि खान्न भन्ने बहसको विषय बन्यो। उनले आफूलाई ‘एसएलसी फेल’ भनेर टिप्पणी गर्नेहरूलाई चुनौती दिँदै आफू चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेको दाबी गरे। रास्वपाका नेता, समर्थक र सरकारलाई लक्षित गर्दै उनले पटक–पटक संसदमा उठाएका प्रश्नको जवाफ दिन चुनौती दिए।
लाइभका क्रममा शाहीले आफूलाई सामाजिक सञ्जालमा गाली गर्ने समूहलाई ‘खरानी ग्याङ’, ‘गाँजडी ग्याङ’, ‘टीओबी ग्याङ’ जस्ता शब्द प्रयोग गरेर सम्बोधन गरे। उनले रवि लामिछानेलाई संकेत गर्दै व्यक्तिगत टिप्पणीसमेत गरे। त्यति मात्र होइन, आफूविरुद्ध भ्रम फैलाउनेहरूलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिए।
शाहीको यो अभिव्यक्तिप्रति रास्वपाका सांसद राजु पाण्डेले सार्वजनिक असन्तुष्टि जनाए। सामाजिक सञ्जालमा लेख्दै उनले सांसदको जिम्मेवारी र पदको गरिमालाई ध्यान दिन आग्रह गरे। लोकतान्त्रिक गणतन्त्रमा सबैलाई विचार राख्ने अधिकार भए पनि भाषाको संयमता र राजनीतिक संस्कृतिको महत्वलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।
तर अर्कोतर्फ राप्रपाले भने शाहीको खुलेर बचाउ ग¥यो। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि योजनाबद्ध साइबर बुलिङ भइरहेको आरोप लगाए। संसदमा जनताका मुद्दा मुखरित गरिरहेका सांसदमाथि सामाजिक सञ्जालमार्फत आक्रमण भइरहेको भन्दै उनले त्यसको निन्दा गरे। प्रतिपक्षी आवाजलाई दबाउने प्रयास भइरहेको आरोपसमेत राप्रपाले लगाएको छ।
विवाद यतिमै रोकिएन। फेसबुक लाइभपछि शाहीले अर्को स्टाटस लेखे। ‘जापानको रक्सी पनि कडा रहेछ’ भन्दै उनले आफूले नखाएको रक्सीले समेत असर गरेको व्यंग्य गर्दै सहकारी ठगी, गाँजा, टीओबी ग्याङ र राजनीतिक समूहहरूमाथि कटाक्ष गरे। त्यसले सामाजिक सञ्जालमा थप बहस जन्मायो।
विवाद उत्कर्षमा पुगेपछि शाहीले आफ्नो फेसबुक लाइभ हटाए। तर त्यतिबेलासम्म उक्त भिडियो हजारौं मानिसले डाउनलोड गरिसकेका थिए। विभिन्न प्लेटफर्ममा क्लिपहरू भाइरल बने र बहस अझ फैलियो।
पछि सञ्चारमाध्यमसँग कुरा गर्दै शाहीले आफूविरुद्ध निरन्तर सुनियोजित आक्रमण भइरहेको महसुस गरेपछि प्रतिक्रिया दिन बाध्य भएको बताए। भाषाशैलीमा कमजोरी भएको स्वीकार्दै उनले भने, ‘रिसमा वेद पढिँदैन।’ यही वाक्य अहिले उनको पछिल्लो विवादको सबैभन्दा चर्चित उद्धरण बनेको छ।
जापानबाट सुरु भएको यो विवादले नेपाली राजनीतिमा अर्को प्रश्न उठाएको छ— संसदको बहस अब संसदभित्र सीमित छैन। एक भाषण, एक तस्बिर, एक स्टाटस वा एक लाइभले राजनीतिक दलहरूबीचको टकरावलाई क्षणभरमै विश्वभर फैलाउन सक्छ। ज्ञानेन्द्र शाही र रास्वपाबीच देखिएको पछिल्लो टकराव त्यसैको पछिल्लो उदाहरण बनेको छ। अहिले विवादको केन्द्रमा केवल सांसदको अभिव्यक्ति छैन, सामाजिक सञ्जालको राजनीति, डिजिटल भीडको दबाब, साइबर अभियान र सार्वजनिक व्यक्तित्वको मर्यादाबीचको सीमारेखा पनि छ।

