पैसाका लागि अर्काकी श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गर्ने वडाध्यक्ष फरार

विरगञ्ज– मरिसकेका बुवाको पेन्सन खान श्रीमतीलाई कान्छी आमा बनाउने ब्यक्तिलाई सहयोग गरी गैरकानुनी सिफारिस गरेको अभियोग लागेका पर्साको बहुदरमाई नगरपालिका– २ का वडाध्यक्ष जितेन्द्र पटेल फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते मुद्दामा अनुसन्धानका लागि वडाध्यक्ष पटेल र बहुदरमाई नगरपालिका– २ सिसयाडीका विकास यादवकी श्रीमती संगीता यादवलाई पक्राउ गर्न मातहतका कार्यालयमा पत्राचार गरेपछि वडाध्यक्ष पटेल फरार भएका हुन्। विकास भने यस अघि नै पक्राउ परेका छन्।
१२ असार ०७५ मा वडाध्यक्ष पटेलले गीतादेवी यादव विनोदप्रसाद यादवको कान्छि श्रीमती भएको सिफारिस गरेका छन्। विनोद यादव विकासका वुवा हुन। मनकामना प्राथमिक विद्यालयका प्रधानाध्यापक रहेका विकासका बुबा विनोद यादवको अवकाशपछि १ माघ ०७४ मा मृत्यु भईसकेको छ। यसअघि उनकी श्रीमती मीनादेवी यादवको १९ असार ०६० मा मृत्यु भएको थियो।
किर्ते मुद्दामा वडाध्यक्ष संलग्न रहेको अनुसन्धान मिसिल प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको पर्सा प्रहरी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
त्यसपछि बुबाले पाउने पेन्सनका लागि विकासले आफ्नै श्रीमती संगीतालाई गीतादेवीको नामले बुबासँगको नाता (कान्छी श्रीमती) प्रमाणित गराई अर्को नागरिकतासमेत निकालेका छन्। प्रहरीका अनुसार विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर निधन भइसकेका बुबाको पेन्सन लिइरहेको भन्दै विकासका काका प्रमोद यादवले उजुरी दिएका थिए।
आर्थिक मिलेमतोमा वडाध्यक्ष पटेलले श्रीमतीलाई कान्छी आमा बनाउन सहयोग पु¥याएको भन्दै प्रमोदले उनीमाथि पनि मुद्दा दर्ता गराएका हुन्। गएको पाँच वर्षमा विकासले पेन्सनको रूपमा करिब २२ लाख रुपैयाँ सरकारी ढुकुटीबाट बुझिसकेका छन्।
मृत्यु दर्ता किताबमा विनोदकी श्रीमतीको नाम मीनादेवी नै उल्लेख छ। मृत्यु दर्ता प्रमाणपत्रमा समेत मीनादेवी नै उल्लेख छ। तर, नक्कली मृत्यु दर्ता प्रमाणपत्रमा मीनादेवी लेखिएको ठाउँमै गीतादेवी थपिएको छ।
वडाध्यक्ष पटेलले सिफारिस गरेको कागजातमा, ‘निवेदिका मेरो एकासगोलको कान्छी आमा हो। कुनै फरक पर्नेछैन। फरक परी झुटा व्यहोरा ठहर भए प्रचलित ऐन–कानुनबमोजिम सम्पूर्ण जवाफदेही मै हुनेछु,’ भनी विकास यादवले सनाखत गरेका छन्।
र यो पनि,