‘क्रिश्चियन नमान्नेहरु देशद्रोही हुन, जेल हाल्नुपर्छ’ भनेपछि मन्त्री किराँती विवादमा

राजविराज– क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही हुन र तिनीहरुलाई जेल हाल्नुपर्छ भन्दै अभिब्यक्ति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विवादमा परेका छन्।

बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किराँतीले क्रिश्चियनसहित सवै धर्मलाई संविधानले मानेकाले क्रिश्चियन धर्मको पनि सम्मान हुनुपर्ने बताए।

यसैक्रममा उनले भने– ‘नेपाल बहु धार्मिक राज्य हो। यो संविधानले स्वीकारेको कुरा हो। मैले भनेको कुरा होइन। राज्यका आँखामा सबै धर्म बराबरी हुन्। आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन्। क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो।’

उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए। ‘म त राज्य हो नि। म राज्यमा बसेर धर्म माने भने मैले नमान्नेमाथि दमन गर्छु। राज्यमा बस्नेको धर्म हुँदैन। त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ।’ – उनले भने।

विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको र त्यसमा ३० प्रतिशत क्रिश्चियन रहेको भन्न पनि भ्याए। उनले थपे– ‘संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?’

उनको यो अभिब्यक्ति विवादमा परेको छ। सामाजिक सञ्जालमा उनको आलोचना भईरहेको छ। नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले कम्युनिष्ट भएर क्रिश्चियन धर्मको पक्षपोषण गरेको आरोप लगाएका छन्।

‘नेपालका मार्क्सका चेलाहरू क्राईष्टका चेलामा दलबदल गरेछन्। मार्क्सले अफिम नखानु भनेका थिए तर नेपाली चेलाहरूले अफिम खुब रुचाउदा रहेछन्। प्रवचन दिनमा पोपलाई पनि माथ गरिसकेका रहेछन्’ उनले फेसवुकमा लेखेका छन्–‘अफिम खानु नै थियो भने बेकारमा मार्क्सका पछि लागेर किन जोवन बिगारेका हुनन्।’

उपाध्यायले नेपालका कम्युनिष्टहरुलाई कुहिएको अण्डासँग तुलना गरेका छन्। ‘हुन त गन्हाउनेमा सबै भन्दा धेरै अण्डा कुहिएपछि गन्हाउछ । नेपालमा मार्क्सका चेलाहरू कुहिएको अण्डाभन्दा पनि धेरै गन्हाउदा रहेछन्।’ उनले भनेका छन्–‘विचरा मार्क्स बैकुण्ठमा यस्ता अफिमची चेलाहरू देखेर पुन्पुरोमा हात राखेर वाक्कदिक्क हुदैहोलान्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *