मोडल पुनम पाण्डेको क्रियाकलापले सन्सार हैरान, मरेको भनिएकी पाण्डे जिवितै
काठमाडौं– विवादास्पद क्रियाकलापको कारण चर्चा आउने गरेकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले एक पटक फेरी सन्सारलाई चकित बनाएकी छिन्।
शुक्रबार निधन भएको भनिएकी पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताउँदै सन्सारलाई बेवकुफ बनाएकधी छिन्। भिडिओ सन्देश पोस्ट गर्दै उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर)बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको बताएकी छिन्।
पुनमले दुईवटा भिडिओ पोस्ट गर्दै आफू नमरेको बताएकी छन्। हिजो उनकै इन्स्टाग्राममार्फत मृत्यु भएको बताइएको थियो। उनले भनेकी छन्, ‘म पाठेघरको क्यान्सरका कारण मरेकी छैन। तर, दुर्भाग्यवश पाठेघरको क्यान्सरका कारण ज्यान गुमाएका सयौँ हजारौँ माहिलाको लागि भने यो भन्न सक्दिन। उनीहरूको मृत्यु केही गर्न नसकेरभन्दा पनि के गर्ने थाहा नभएर हो।’
अन्य क्यान्सर जसरी पाठेघरको क्यान्सर पनि रोकथाम गर्न सकिन्छ भनेर सचेतना फैलाउन आफुले मरेको नाटक गरेको उनले जनाएकी छिन्। ‘तपाईँले गर्नुपर्ने भनेको केवल पाठेघर क्यान्सरको जाँच हो। तपाईँले एचपीभी भ्याक्सिन खोप लगाउनुपर्ने हुन्छ। यो क्यान्सरले आगामी दिनमा कसैको ज्यान नगुमोस भनेर हामीले यो सबै र योभन्दा धेरै गर्न सक्छौँ।’