दर्शकलाई अश्लिल इसारा गरेपछि क्रिस्टियानो रोनाल्डोलाई कारवाही

काठमाडौं– अश्लिल इसारा गरेपछि पोर्चुगीज खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि कारवाही भएको छ। अल नासरका विश्वस्तरीय स्ट्राईकर रोनाल्डोले साउदी अरबको लिगमा एक खेल खेल्न पाउने छैनन्।
दर्शकमाथि अश्लित इसारा गरेको आरोपमा उनलाई एक खेलको प्रतिबन्ध लगाइएको छ। उनले लियोनल मेसीलाई जोडेर अश्लील इसारा गरेपछि कारवाही गरिएको जनाईएको छ। अल नासर र अल–सबाबबीचको खेलका क्रममा उनले दर्शकतिर फर्केर अश्लील इसारा गरेका थिए।
खेलका क्रममा विपक्षी समर्थकले रोनाल्डोका विरुद्ध मेस्सीको नारा लगाएका थिए। त्यो सुनेपछि आक्रोशित भएको रोनाल्डोले अस्वभाविक इसारा गरेका थिए। रोनाल्डोको त्यो हर्कतपछि अल–सबाबका समर्थकले उनलाई तत्काल कारबाही गर्न माग गरेका थिए।
त्यसपछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेल प्रतिबन्ध गर्नुको साथै १० हजार साउदी रियाल जरिवाना समेत गरेको छ। उनको क्लब अल नासारलाई पनि २० हजार रियाल जरिवाना गरिएको छ।
रोनाल्डोले अनुशासन समितिलाई भने अल–सबाबलाई ३–२ गोलअन्तरले हराएको खुसीयालीमा उक्त घटना भएको र यो कसैप्रति लक्षित नभएको जवाफ दिएका छन्।