विश्वकपमा मैदानबाहिरको ‘खतरनाक खेल’: मेस्सीलाई मार्ने धम्कीदेखि रोनाल्डोको होटलसम्म शंकास्पद व्यक्ति
काठमाडौँ — विश्वकप २०२६ मा लियोनेल मेस्सी मैदानभित्र अर्जेन्टिनाको मुख्य हतियार मात्र थिएनन्, मैदानबाहिर सुरक्षा संयन्त्रका लागि सबैभन्दा संवेदनशील खेलाडीमध्ये एक पनि बने। अमेरिकी सुरक्षा निकायसँग सम्बन्धित प्रतिवेदनमा मेस्सीलाई लक्षित गर्दै बम र गोली प्रहारको धम्कीदेखि आत्मघाती आक्रमणको चेतावनीसम्म आएको उल्लेख छ।
क्रिस्टियानो रोनाल्डोको टोली बसेको होटलसम्म शंकास्पद व्यक्ति पुग्नु, रेफ्रीहरूलाई हजारौँ धम्कीपूर्ण सन्देश आउनु र रंगशालामा बम राखिएको भन्दै झुटा सूचना दिनेसम्मका घटनाले विश्वकपको सुरक्षा चुनौती मैदानको घेराभन्दा धेरै पर फैलिएको देखाएको छ।
एफबीआई र इन्टरनेसनल पुलिस कोअपरेसन सेन्टरसँग सम्बन्धित सुरक्षा मूल्यांकनलाई उद्धृत गर्दै स्पेनिस अखबार इन्फरमेसनले विश्वकपका क्रममा सामना गरिएका सुरक्षा चुनौतीबारे विवरण प्रकाशित गरेको छ। त्यसमा मेस्सीमाथि भएको सम्भावित आक्रमणको धम्कीलाई गम्भीर घटनामध्ये एकका रूपमा उल्लेख गरिएको छ।
२८ जुन २०२६ मा अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा अर्जेन्टिना र जोर्डनबीच समूह चरणको खेल तय थियो। खेल सुरु हुनुअघि डलास विमानस्थलमा एक व्यक्तिले फोन गरेर आफू र अन्य दुई जना घरेलु रूपमा बनाइएका बम तथा एआर–१५ राइफल बोकेर रंगशाला प्रवेश गर्न लागेको दाबी गरे। उनले आफूहरूको मुख्य निशाना मेस्सी हुनेसमेत बताएका थिए।
रंगशालाबाट करिब १८ किलोमिटर टाढा रहेको विमानस्थलबाट आएको त्यो फोनपछि सुरक्षा संयन्त्र तत्काल सक्रिय भयो। रंगशाला प्रवेश गर्ने स्थानमा जाँच कडा पारियो र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइयो। धम्की दिने व्यक्तिले विमानस्थलमै फोन गर्नुको कारण भने सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन। सुरक्षा निकायसम्म सूचना छिटो पुग्ने अनुमानमा उनले त्यहाँबाट फोन गरेको हुन सक्ने देखिन्छ।
त्यो घटना वास्तविक आक्रमणमा परिणत भएन। तर विश्वकपजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वकै चर्चित खेलाडीलाई लक्षित गरेर बम र स्वचालित राइफलसहित रंगशाला प्रवेश गर्ने धम्की आउनुले सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्यो।
मेस्सीमाथिको अर्को धम्की अझ गम्भीर प्रकृतिको थियो। ७ जुलाईमा जर्जिया राज्यको राजधानी एटलान्टामा अर्जेन्टिना र इजिप्टबीच राउण्ड अफ १६ को खेल हुँदै थियो। खेलअघि सामाजिक सञ्जालमा एक व्यक्तिले आफू शरीरमा चारवटा बम बाँधेर रंगशालामा प्रवेश गर्ने र मेस्सीलाई निशाना बनाउने धम्की दिएका थिए।
खेल चलिरहेका बेला प्रहरीलाई रंगशालामा दर्शक बस्ने क्षेत्रमा रहेका केही डस्टबिनभित्र तीनवटा बम रहेको दाबी गर्दै अर्को सूचना आयो। त्यसपछि सुरक्षाकर्मीले तत्काल सम्भावित विस्फोटक पदार्थ खोजी सुरु गरे। बम पत्ता लगाउने तालिमप्राप्त कुकुरसमेत रंगशालाभर परिचालन गरियो। लामो खोजीपछि कुनै विस्फोटक पदार्थ फेला परेन। अन्ततः उक्त सूचना पनि झुटो चेतावनी अर्थात् ‘फल्स अलार्म’ साबित भयो।
तर त्यही समय मैदानमा भने अर्जेन्टिना र इजिप्टबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो। अर्जेन्टिना खेलको करिब ८० मिनेटसम्म २–० ले पछाडि थियो। त्यसपछि उसले खेल उल्टाउँदै निर्धारित समयमै ३–२ को जित निकाल्यो।
अर्जेन्टिनाको जितसँगै अर्को विवाद सुरु भयो। मेस्सी र अर्जेन्टिनाका आलोचकहरूले रेफ्रीले अर्जेन्टिनालाई पक्षपात गरेको आरोप लगाए। त्यसको प्रभाव खेलाडीमा मात्र सीमित रहेन, खेल सञ्चालन गर्ने अधिकारीहरू पनि धम्कीको निशानामा परे।
फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सियरलाई अर्जेन्टिना–इजिप्ट खेलपछि उनको व्यक्तिगत ह्वाट्सएपमा ६ हजारभन्दा बढी घृणास्पद तथा धम्कीपूर्ण सन्देश पठाइएको विवरणमा उल्लेख छ। सोही खेलका भीएआर रेफ्री विली देलाजोडले पनि यस्तै धम्की सामना गर्नुपरेको थियो। धम्की बढेपछि फ्रान्समा उनीहरूका घर तथा परिवारको सुरक्षा थप मजबुत बनाउनुपरेको थियो।
यसले विश्वकपको सुरक्षा चुनौती खेलाडीको सुरक्षामा मात्र सीमित नरहेको देखायो। मैदानमा निर्णय गर्ने रेफ्रीदेखि उनीहरूको परिवारसम्म सामाजिक सञ्जालबाट उत्पन्न हुने हिंसात्मक धम्कीको जोखिममा परेका थिए।
विश्वकपका क्रममा सुरक्षा चुनौती सामना गर्नेमा मेस्सी मात्र थिएनन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसमेत शंकास्पद गतिविधिको निशानामा परेका थिए। रोनाल्डो बसेको होटलमा एक व्यक्ति पुगेर पोर्चुगलको टोली कहाँ बसेको छ र त्यहाँ को–को छन् भन्ने विवरण खोजेको बताइएको छ। फिफाका एक कर्मचारीले यसबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। दुई दिनपछि ती व्यक्ति पोर्चुगलको टोली बसेकै होटलभित्र पक्राउ परेका थिए।
ह्युस्टन प्रहरीले उनलाई सामान्य प्रशंसकभन्दा फरक उद्देश्यका साथ होटलसम्म पुगेको आशंकामा नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। अर्को घटनामा टोरोन्टोमा एक व्यक्ति रोनाल्डोसँगै लिफ्टमा प्रवेश गर्न खोजेका थिए। ती व्यक्तिले भने आफूले रोनाल्डोसँग सेल्फी खिच्न मात्र खोजेको बताएका थिए।
विश्वकपका क्रममा किलियन एम्बाप्पे, एलेक्जान्डर सोर्लोथ र जामिन्टन क्याम्पाजलगायत अन्य खेलाडीसमेत धम्कीको निशानामा परेको बताइएको छ। यी घटनाको पृष्ठभूमिमा विश्वकप २०२६ को सुरक्षा व्यवस्थापन कति ठूलो चुनौती थियो भन्ने प्रश्न पनि उठेको छ। अमेरिकी सुरक्षा निकायहरूले प्रतियोगिताका क्रममा सम्भावित आतंकवादी गतिविधि, हिंसात्मक समूह, साइबर जोखिम, झुटा धम्की तथा उच्चप्रोफाइल खेलाडीमाथिका सुरक्षा चुनौतीलाई अलग–अलग कोणबाट निगरानी गरेका थिए।
मेस्सीमाथि धम्की आउनुको एउटा कारण उनको असाधारण लोकप्रियता र अर्जेन्टिनाको विश्वकप यात्रासँग जोडिएको भावनात्मक तथा राजनीतिक प्रभाव पनि हुन सक्छ। सन् २०२२ मा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेस्सी २०२६ मा पनि युवा पुस्ताका चर्चित खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उच्चस्तरको प्रदर्शन गरिरहेका थिए।
३९ वर्षको उमेरमा उनले लामिन यमाल, एर्लिङ हालान्ड, भिनिसियस जुनियर र किलियन एम्बाप्पेजस्ता युवा स्टारहरूको पुस्ताबीच आफू अझै निर्णायक खेलाडी रहेको प्रमाणित गरे। प्रतियोगिताभर ८ गोल गरेका मेस्सी एम्बाप्पेपछि दोस्रो सर्वाधिक गोलकर्ता बने।
तर मैदानमा उनको प्रभाव जति ठूलो थियो, मैदानबाहिर सुरक्षा जोखिम पनि त्यहीअनुसार बढेको देखियो। सार्वजनिक रूपमा कम विवादमा आउने र व्यक्तिगत राजनीतिक तथा सामाजिक विषयमा धेरै नबोल्ने मेस्सीसमेत प्रत्यक्ष हत्या धम्कीको निशानामा पर्नुले विश्वका सुपरस्टार खेलाडीहरूको सुरक्षा चुनौती कति जटिल बन्दै गएको छ भन्ने देखाउँछ।
विश्वकपको अर्को उल्लेखनीय पक्ष सामाजिक सञ्जालबाट उत्पन्न हुने जोखिम रह्यो। खेलाडी वा रेफ्रीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम कतिपय अवस्थामा घृणा, धम्की र सम्भावित हिंसाको चेतावनीसम्म पुगेको देखियो।
अर्जेन्टिना–इजिप्ट खेलपछि रेफ्रीहरूलाई आएको हजारौँ धम्कीपूर्ण सन्देश त्यसैको उदाहरण थियो। खेलको एउटा निर्णयप्रतिको असन्तुष्टि कसरी व्यक्तिगत सुरक्षा र परिवारको सुरक्षासम्म पुग्न सक्छ भन्ने घटना त्यसले देखायो।
नकआउट चरण पार गर्दै अर्जेन्टिना फाइनलसम्म पुगे पनि उपाधि जित्न भने सकेन। स्पेनविरुद्धको फाइनल १२० मिनेटसम्म चलेको थियो। अर्जेन्टिनाले लक्ष्यतर्फ एउटा पनि सट प्रहार गर्न सकेन र एक गोलको अन्तरले पराजित भयो। खेलमा स्पेनको दबदबा देखिएपछि समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न कन्स्पिरेसी थ्योरीसमेत अघि सारे।
तर मैदानको नतिजाभन्दा बाहिर विश्वकप २०२६ ले अर्को गम्भीर वास्तविकता पनि देखाएको छ—विश्वका सर्वाधिक चर्चित फुटबलर हुनुको मूल्य अब खेल मैदानमा विपक्षीसँग प्रतिस्पर्धा गर्नुमा मात्र सीमित छैन।
मेस्सीका लागि विश्वकपको एउटा अर्को खेल मैदानबाहिर चलिरहेको थियो—बमको धम्की, राइफलसहित रंगशाला प्रवेश गर्ने चेतावनी, आत्मघाती आक्रमणको दाबी र झुटा बम सूचनाबीच सुरक्षाकर्मीको निरन्तर निगरानी।
रोनाल्डोको हकमा पनि कथा फरक थिएन। होटलसम्म पुग्ने शंकास्पद व्यक्ति र खेलाडीको नजिक पुग्ने प्रयासले उच्चप्रोफाइल खेलाडीको निजी सुरक्षासमेत विश्वकपको सुरक्षा व्यवस्थापनको महत्वपूर्ण हिस्सा बनिसकेको संकेत ग¥यो।
अन्ततः कुनै ठूलो सुरक्षा घटना नभई विश्वकप सम्पन्न हुनु अमेरिकी सुरक्षा संयन्त्रका लागि उपलब्धि हुन सक्छ। तर प्रतियोगिताका क्रममा सार्वजनिक भएका यी घटनाले एउटा नयाँ प्रश्न भने छाडेका छन—विश्वकप अब केवल मैदानमा खेलिने फुटबलको प्रतियोगिता रहेन, विश्वका सुपरस्टारलाई डिजिटल धम्की, झुटा सूचना, सम्भावित हिंसा र प्रत्यक्ष सुरक्षा जोखिमबाट जोगाउने विशाल सुरक्षा अभियान पनि बनिसकेको छ।

