कप्तान सोनीको अलराउन्ड प्रदर्शनमा हङकङमाथि नेपालको १८१ रनको दबदबा, लगातार दोस्रो जित

काठमाडौँ– एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो प्रभावशाली जित दर्ता गर्दै हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गरेको छ। कप्तान सोनी पाख्रिनले ब्याटिङमा विस्फोटक अर्धशतक र बलिङमा घातक प्रदर्शन गर्दै नेपालको एकतर्फी जितको नेतृत्व गरेपछि हङकङ खेलभरि दबाबमा रह्यो।

सोमबार सम्पन्न समूह चरणको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार पारेको थियो। त्यसको जवाफमा हङकङको ब्याटिङ लाइनअप नेपाली बलरहरूको सामु टिक्न नसक्दा लक्ष्यभन्दा निकै टाढा रहँदै पराजय व्यहोर्न बाध्य भयो।

नेपालको इनिङ्समा कप्तान सोनी पाख्रिन मुख्य आकर्षण बनिन्। उनले ६० बलमा १३ चौका र एक छक्काको मद्दतमा ९० रनको उत्कृष्ट इनिङ्स खेलिन्। शतकबाट मात्र १० रनले चुकेकी सोनीले टोलीलाई बलियो स्थितिमा पु¥याउन निर्णायक भूमिका निर्वाह गरिन्।

ओपनर सावित्री धामीले पनि आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५२ रन बनाइन्। मध्यक्रममा अलिसा कुमारी यादवले १२ बलमा २३ रनको तीव्र गतिका साथ योगदान दिँदा नेपालको स्कोर २०० रनको आँकडा पार गर्न सफल भयो। हङकङका लागि निम्रा अरबले दुई विकेट हात पारिन्।

२१२ रनको कठिन लक्ष्य पछ्याएको हङकङ सुरुदेखि नै दबाबमा देखियो। नेपाली बलरहरूको कसिलो आक्रमणका कारण हङकङका ब्याटरहरूले रन बनाउने लय समात्न सकेनन्। टोलीका लागि वङ विङ किउ हेलीले मात्रै दोहोरो अंकमा रन जोड्न सफल भइन्। उनले ४५ बल खेलेर १३ रन बनाइन्।

बलिङतर्फ पनि कप्तान सोनी नै नेपालको प्रमुख हतियार बनिन्। उनले चार ओभरमा मात्र चार रन खर्चेर चार विकेट लिँदै हङकङको ब्याटिङ धराशायी बनाइन्। मनिषा उपाध्यायले दुई विकेट थप्दै नेपालको जित सहज बनाइन्।

यसअघि पहिलो खेलमा नेपालले सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो। लगातार दोस्रो फराकिलो जितसँगै नेपाल प्रतियोगितामा बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ। ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट सन्तुलन देखाएको नेपाली टोलीले आगामी खेलहरूका लागि थप आत्मविश्वास प्राप्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट