शम्भुनाथका वडाध्यक्षलाई कार्यवाहक मेयरको आदेशः तपाईहरुको काम छैन, नपामा नआउनु

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकाकी कार्यवाहक मेयर अनिता कुमारी चौधरीले कतिपय वडाध्यक्षहरुलाई ‘तपाईहरुको काम छैन। वैठकको वेला वाहेक नगरपालिकामा नआउनु’ भनेपछि विवाद सुरु भएको छ।

उनको अभिब्यक्ति विरुद्ध नेपाली कांग्रेसमा आवद्धसहित ७ जना वडाध्यक्षहरुले आईतबार ज्ञापन पत्र नै वुझाएर माफी माग्न चेतावनी दिएका छन्। कुल १२ वडा रहेको शम्भुनाथमा ७ जना वडाध्यक्ष कावा मेयरको विपक्षमा देखिएका छन्।

वडाध्यक्षहरुले कार्यवाहक मेयर चौधरीलाई वुझाएको ज्ञापन पत्रमा भनिएको छ–‘बिगत केही महिनादेखि शम्भुनाथ नगरपालिकामा कार्यबाहक नगर प्रमुख अनिता कुमारी चौधरीले कार्यपालिकाको बैठक समयमा नबोलाउने तथा बैठक नगर्ने गरेको छ। यस आर्थिक वर्ष २०८०/०८१ को आठौं महिना वित्न लाग्दा पनि वडा स्तरीय, नगर स्तरीय बजेटको हालसम्म सम्झौता नगरेको फायलहरु योजना शाखामा पेन्डिङ्गमा राखेको प्रति हामी वडाअध्यक्षहरुको आपत्ति रहेको छ।’

ज्ञापन पत्रमा नगरपालिकाको सवारी साधन दुरुपयोग भएको र अनावश्यक रुपमा राजविराजमा हाकिमका लागि कोठा भाडामा राखिएको विषय पनि उठाईएको छ। वडा नं. १ का अध्यक्ष जीवछ साहले भने–‘सवारी दुरुपयोग रोक्न कार्यपालिकाको वैठकबाटै गाडीमा नाम लेखिएको छ। तर, त्यसपछि प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले प्राइभेट गाडी भाडामा लिई प्रयोग गरिरहका छन्। यो दुरुपयोग कस्ले रोक्ने ?’

यस्तै प्रमुख प्रशासकीय अधिकृतका लागि कठौना बजारमै आवासको ब्यवस्था गरिएपनि राजविराजमा उनका लागि छुट्टै कोठा भाडा लिई दैनिक आवतजावत गर्ने गरेको पनि उनीहरुले जानकारी दिएका छ। हाकिमले कोठा, गाडी र इन्धनका नाममा नगरपालिकाको अनावश्यक खर्च वढाएको वडा नं. २ का अध्यक्ष दुर्गानन्द भगतको भनाई छ।

कार्यवाहक मेयर लगायतका कतिपय जनप्रतिनिधिको वेवास्ताले नगरपालिकाले सुरु गरेको कोल्ड स्टोर, अस्पताल निर्माण, चन्द्रभोगा योजना लगायतका निर्माण कार्यहरु अलपत्र परेको उनीहरुले जनाएको छ। ज्ञापन पत्र मार्फत उनीहरुले ८ बुँदे माग राख्दै तीन दिनभित्र माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

शम्भुनाथमा मेयर र उपमेयर दुवै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले जितेको छ। मेयर जितेन्द्रप्रसाद गुप्ता कलवारविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी निलम्वनमा परेका छन्। उपमेयर (कार्यवाहक मेयर) का कारण नगरपालिका तहसनहस भएको वडाध्यक्षहरुले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट