सीके राउत र मधेश सरकारको भारत मोहः बलात्कारी बाबा र भारतीय योजनामा बजेट, सलहेशको इतिहासमाथि आक्रमण

राजविराज— मधेश प्रदेश सरकार र डा. सीके राउत नेतृत्वको जनमत पार्टीमाथि अहिले भारतीय चाकरी र सत्ता स्वार्थको घिनलाग्दो मिलेमतोको आरोप तीव्र हुँदै गएको छ।

प्रदेश सरकारले पछिल्ला केही महिनामा गरेका विवादास्पद निर्णयले मधेशको स्वाभिमानमाथि प्रश्नचिन्ह मात्र उठाएको छैन, भारतसँग आत्मसमर्पण गरिरहेको नमुना प्रस्तुत गरेको छ।

भारतमा बलात्कारको कसुरमा सजाय भोगिरहेका बाबाको नाममा बजेट, मुख्यमन्त्रीका बुबा ठेकेदार रहेको भारतीय दुतावासको अधुरो भवनमा बजेट तथा मधेशका सांस्कृतिक प्रतीक राजा सलहेशको ऐतिहासिक फूलवारीमा भारतका नेता भीमराव अम्बेडकरको नाममा पार्क बनाउने योजना अघि बढाएर मधेश सरकार र जनमत पार्टीले भारत परस्त भएको नमूना प्रस्तुत गरेको हो।

भारतका बलात्कारी बाबाको नाममा ३० लाखको बजेट
मधेश प्रदेश सरकारले नाबालिग बलात्कारको अभियोगमा भारतमा जन्मकैदको सजाय भोगिरहेका आशाराम बापूको नाममा बजेट विनियोजन गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको सन्त श्री आशाराम बापू योग वेदान्त सेवा समितिका लागि भवन स्तरोन्नति गर्न ३० लाख रुपैयाँ छुट्याइएको प्रमाण बजेटको रातो किताबमै उल्लेख छ।

त्यो रकममध्ये आधा खेलकुद मन्त्रालय र आधा समाजिक विकास मन्त्रालयमार्फत विनियोजन भएको छ। यो प्रकरणले प्रदेश सरकारले योजना बनाउने तरिका कति हठात, अनियमित र नैतिकतारहित छ भन्ने देखाएको छ।

प्रदेश मन्त्री प्रमोद जैसवालले ‘योजना थाहा भएन, यस्तो योजना हुँदैन’ भन्दै जिम्मेवारीबाट पन्छिने शैलीमा बयान दिएपछि सरकारको आलोचना भईरहेको छ।

मुख्यमन्त्रीका बुबाको अधुरो छात्रावासमा करोडौं बजेट
मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहमाथि आफ्नै बुबा शेखर कुमार सिंहको अधुरो कन्या छात्रावासमा १ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएर परिवार पाल्ने प्रपञ्च रचेको आरोप लागेको छ।

२०६२ सालमा भारतीय दूतावासको अनुदानबाट सुरु भएको कन्या छात्रावास २० वर्ष बितिसक्दा पनि अधुरो छ। निर्माण समितिमा मुख्यमन्त्रीका बुबा आफै अध्यक्ष छन्। उक्त कन्या छात्राबास अहिले सम्म सम्वन्धित निकायलाई हस्तान्तरण भएको छैन।

प्रदेश सरकारले कुनै सार्वजनिक टेन्डर वा कानुनी प्रक्रिया नपुर्‍याई सोही समितिलाई बाँकी भुक्तानी गर्न रकम छुट्याएको आरोप छ। यस विषयमा संघीय सरकारका पूर्वमन्त्री उमेशकुमार यादवले तीव्र कटाक्ष गर्दै लेखेका छन– ‘कसैको दाजुभाइ र कसैको बाबुछोराको रजाइँ गर्न जनताले कर तिरेका होइनन्।’

प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साह भन्छन— ‘यो छात्रावास बनाउन होइन, पैसा असुल्न बनाइएको योजना हो।’ प्रदेश सरकारका बचाउ पनि कमजोर देखिएका छन्। मुख्यमन्त्रीले ‘छात्रावास सञ्चालनका लागि बजेट छुट्याएको’ जिकिर गरे पनि, सार्वजनिक स्रोतको दुरुपयोग, प्रक्रियाविनाको निर्णय र सत्ता–परिवार गठबन्धनको गन्ध त्यसमा छर्लङ्ग देखिन्छ।

सलहेश फूलवारी मेटाएर भारतीय अम्बेडकर पार्क
तेह्रौं–चौधौं शताब्दीका मधेशका सांस्कृतिक प्रतीक राजा सलहेशको ऐतिहासिक फूलवारीमाथि भारतका नेता भीमराव अम्बेडकरको नाममा पार्क बनाउने योजना अघि बढाइएको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मुख्यमन्त्री सतिश सिंह आफैंले सलहेश फूलवारीमा ८० लाख बजेटको अम्बेडकर पार्क शिलान्यास गरेका छन्।

यो फूलवारी मधेशकै पुरातात्विक, धार्मिक र ऐतिहासिक स्थल हो—जहाँ वर्षको एक दिनमात्र फुल्ने फूल हेर्न भारत र नेपालका हजारौं भक्त पुग्छन्।

यसलाई भारतीय राजनीतिका प्रतीकको नाममा रूपान्तरण गर्ने निर्णय ‘संस्कृति मेटेर विदेशी आस्थालाई थोपर्ने’ प्रयत्न भएको भन्दै दलित अगुवा र स्थानीय समाजले चर्को विरोध गरेका छन्।

नेपाल पत्रकार महासंघका सह–सचिव धर्मेन्द्र पासवानले भनेका छन्— ‘राजा सलहेशको इतिहास मेटेर अर्काको नाममा पार्क बनाउनु गलत हो।’ पूर्वमन्त्री उमेशकुमार यादवले अम्बेडकरकै विचारमाथि प्रहार भएको भन्दै टिप्पणी गरेका छन्। ‘अम्बेडकर विचारमाथि प्रहार गर्दै अम्बेडकर पार्कको शिलान्यास!’– उनले भनेका छन्।

यी तीनवटा प्रकरणले एउटै कुरा देखाएको छ– मधेश प्रदेश सरकार र सीके राउत नेतृत्वको पार्टीले भारतीय प्रभाव र सत्ता–ठेकेदारीलाई प्राथमिकता दिएको छ।

यसलाई नागरिकले ‘आत्मसमर्पण र सत्ताको दलाली’ को संज्ञा दिएका छन्। सत्ता र व्यक्तिगत स्वार्थका लागि मधेशको स्वाभिमान र पहिचानलाई खोक्रो बनाएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट