‘कांग्रेसले प्रधानमन्त्री बनाउँदैछ’ भन्दै गृहमन्त्री पड्काउने रविको वार्गेनिङ १२ घण्टा पनि टिकेन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘गृहमन्त्री नपाए कांग्रेसँग मिलेर प्रधानमन्त्री बन्छु’ भन्दै मंगलबार नयाँ गठवन्धनका नेताहरुलाई निकैबेर पसिना छुटाए।
काँग्रेसले आफुलाई प्रधानमन्त्री दिन्छु भनेकाले गठवन्धनबाट गृहमन्त्री नपाए उतै लाग्ने भन्दै उनले बार्गेनिङ बढाए। रविको पार्टीका प्रबक्ता मुकुल ढकालले प्रधानमन्त्री बन्न आफर आएको बताउँदै हिडे।
संसदमा २१ सिट रहेको रास्वपा सरकार गठनका लागि निर्णायक शक्ति भएकाले गठवन्धनका नेताहरु पनि आच्छुआच्छु भए। तर, उनको यो कुरा झुठो सावित भएको छ। उनको दावी १२ घन्टा पनि टिक्न नपाउँदै कांग्रेसले छताछुल्ल पारेको छ।
कांग्रेस नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताएका छन्। गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका कारण कांग्रेसलाई देखाएर मनगढन्ते प्रचार गरेको हुनसक्ने एक पदाधिकारीले वताए।
सरकारमै सामेल भएर मन्त्रीसमेत बनाइसकेको पार्टी सभापतिलाई प्रधानमन्त्री अफर गर्ने कुरा विश्वासै गर्न नसकिने उनको भनाई छ। ‘फेरि कहाँबाट बहुमत जुटाइदिने हो हामीले? यो त अफवाह मात्रै हो,’ ती पदाधिकारीले भने, ‘लामिछानेले नयाँ गठबन्धनमा गृहको दाबी गरिएको र अहिलेसम्म नपाएको सुनिँदै आइएको छ। यही दाबी बलियो बनाउन अफवाह फैलाएका हुन सक्छन्।’
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका गठवन्धनका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन नेपाल निवास कोटेश्वरमा भेला भएका छन्। लामिछाने पनि उक्त भेटघाटमा सहभागि हुन कोटेश्वर जाँदैछन्।
गृहमन्त्रीमा फर्किने लबिइङमा रहेका उनी कोटेश्वरमा मिसिन जाँदै गरेको स्रोतले जनाएको छ।