विवादित कथा बाचक शीतलकृष्णको नेपाली नागरिक्ता किन नखोस्ने ?
राजविराज– पत्निलाई हिंसा गरेको आरोप लागेपछि विवादमा तानिएका कथा वाचक शीतलकृष्ण महाराजको नेपाली नागरिक्ता नै खोस्नु पर्ने आवाज उठ्न थालेको छ। उनले भारतको पनि नागरिक्ता (रासन कार्ड) बोकेको खुलासा भएपछि नेपाली नागरिक्ता खोस्नु पर्ने आवाज उठेको हो।
उनीसँग ‘भारत सरकार, आम आदमीका अधीकार’ लेखिएको ७७८३३९८८२१३६ नम्बरको आधारकार्ड रहेको पाइएको छ। जसमा उनको नाम शीतल कृष्ण र जन्ममिति ०७/०८/१९८० उल्लेख छ।
आधारकार्ड भारत सरकारले आफ्ना नागरिकलाई सरकारी र गैर सरकारी सेवासुविधाहरू सहजरूपमा प्रदान गर्न उपलब्ध गराउने प्रमाणपत्र हो। शीतलकृष्ण नेपाली नागरिक भएपनि भारतीय आधारकार्ड लिएको पाईएको छ।
उनको जन्म नवलपरासीस्थित देवचुली नगरपालिका–१२ मा भएको हो। सोही ठेगाना उल्लेख गरेर उनले नेपाली नागरिकता लिएका छन्। नागरिकतामा उनका बुवाको नाम सिद्दीनारायण भुसाल र आमाको नाम सरस्वतीदेवी भट्टराई उल्लेख छ। नागरिकतामा उनको जन्म मिति २०४७/०४/२३ गते उल्लेख छ। उनको नागरिकता नम्बर ३६२०११/४८५९ हो।
नेपालको कानुन अनुसार नेपाली नागरिकले अन्य देशको नागरिकता लिन पाइँदैन। त्यसो गर्न नेपाली नागरिकता त्याग गरेको हुनुपर्छ। तर, शीतलकृष्णले धर्मको आडमा दोहोरो नागरिकता बोकेको जानकारहरु वताउँछन्।
उनी पछिल्लो समय श्रीमतीलाई शारीरिक र मानसिक यातना दिँदै सम्बन्धन विच्छेदका लागि अदालत पुगेपछि विवादमा आएका हुन्। घरेलु हिंसा सहेरै भए पनि बसिरहेकी सुकृति श्रीमान् सम्बन्ध विच्छेदका लागि अदालत पुगेपछि न्यायको माग गर्दै मिडियासामु आएकी छन्।
उनले श्रीमानको बाहिर अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि त्यसो नगर्न सम्झाउँदा हिंसा खेप्नु परेको गुनासो गरेकी छन्। पछिल्लो समय उनीमाथि कुटपिट भएरका हृदयविदारक तस्बिरहरू सार्वजनिक भएका छन्।
यस प्रकरणमा शीतलकृष्ण भने लामो समय मौन बसे। शुक्रबार एक भीडीओ सन्देश जारी गर्दै जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने बाध्यता आइलागेकाले आफूले मातापिता रोजेको बताएका छन्।
‘जीवनमा यस्तो मोड आयो– मातापिता र श्रीमतीमा एउटा रोज्नुप-यो। संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ, मबाट यही भूल भयो सायद’ उनले भनेका छन्,– ‘मैले आफ्नो गृहस्थी चलाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु।’
गत साउन महिनादेखि श्रीमती र आफ्नो आचरण र विचार नमिलेको उल्लेख गर्दै श्रीमतीकै हितका लागि आफूले जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिएको उनले बताएका छन्। ‘गएको साउन महिनामा लगभग ९ महिनापूर्व, मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको थिएँ।’– उनले भनेका छन्।
आफू अदालतको फैसलाको प्रतीक्षामा रहेको र त्यसअघि यस विषयमा थप टिकाटिप्पणी नगर्ने बताएका उनले अरूलाई पनि नगर्न अनुरोध गरेका छन्। ‘म स्वयम् पनि सम्मानित अदालतको अन्तिम फैसलाको, अन्तिम निर्णयको प्रतीक्षामा रहेकोले यसप्रति मेरो अन्य टिकाटिप्पणी केही पनि छैन’, उनले भनेका छन्–‘यहाँहरूलाई पनि यस विषयमा सम्मानित अदालतको निर्णय नआउन्जेलसम्म म थप टिकाटिप्पणी, चर्चा, परिचर्चा नगरिदिनहुन हार्दिक निवेदन गर्दछु। साथै भक्त सज्जनहरूलाई प्रतीक्षा गर्न, धैर्य गर्न पनि निवेदन गर्न चाहन्छु।’
श्रीमती सुकृति पौडेलले पत्रकार सम्मेलन गरेर लगाएका सबै आरोप निराधार र असत्य भएको दाबी पनि उनले गरेका छन्।
र, यो पनि