देवर–भाउजु एउटै कोठामा भेटिएपछि रातभर बाँधेर सजाय, विहान गाउँनिकाला

राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका– ७, हरिपुरमा नातामा देवर पर्ने ब्यक्तिसँग अनैतिक सम्वन्ध राखेको आरोपमा जवर्जस्ती विवाह गराएकी दलित महिलालाई गाउँनिकाला गरिएको छ।
पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा गाउँमा वसेको पञ्चायती (वैठक)ले जोडीलाई नै गाउँ निकाला गरेको हो। हरिपुरस्थित दलित वस्तीमा भएको यो घट्नामा गाउँ निकाला गर्नुपूर्व उनीहरुको अपमानजनक विवाह गराईएको थियो।
पञ्चायतीमा मुख्य भूमिका निर्वाह गरेका पूर्ववडाध्यक्ष साहले दुवैलाई गाउँ निकाला गर्ने निर्णय सुनाएका थिए। स्थानीयका अनुसार ती महिला र देवर पर्ने ब्यक्तिलाई होलीको दिन (सोमबार) राती एउटै कोठामा समातिएको थियो। उनीहरुलाई रातभरी बाँधेर राखेपछि मंगलवार विहान पञ्चायती वस्यो।
पञ्चायतीमा देवरले भाउजूलाई सिन्दुर हाल्नु पर्ने सर्त राखियो। भीडको दबाबमा परेर नतमस्तक हुँदै ती पुरुषले पनि आमा समान भाउजुको सिउँदोमा सिन्दुर हाले। उनीहरुप्रतिको अपमान र दुर्ब्यवहार यतिमा मात्रै सिमित रहेन। लत्ताकपडासहितको झोला पञ्चायतीमै जिम्मा लगाएर घर समेत जान नदिई उनीहरुलाई गाउँनिकाला गरियो।
हात समातेर अघि लागेका ती पुरुष अहिले भाउजुसहित सम्पर्कविहीन छन। स्थानीयका अनुसार गाउँ निकालामा परेका पुरुषका श्रीमती र दुई नाबालक सन्तान छन भने महिलाका दुई छोरासहित नातिनातिनासमेत छन्। उनका पति र दुवै छोरा वैदेशिक रोजगारीमा रहेको जनाईएको छ।
यता, पूर्ववडाध्यक्ष साहले पञ्चायतीमा दुवैको विवाह गराई गाउँनिकाला गरिएको स्विकारे। ‘लामो समयदेखि दुवैजनाबीच अनैतिक समबन्ध थियो, पञ्चायतीमै विवाह गराएर त्यसपछि गाउँ निकाला गर्ने निर्णय भएको हो।’– उनले भने।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने घट्नाको अनुशन्धान भईरहेको जनाएको छ। सप्तरी प्रहरीका डीएसपी ढुण्डीराज नेउपाने भन्छन्–‘गाउँनिकालमा परेका दुवैजना सम्पर्कमा छैनन्। उनीहरुको खोजतलास र स्थानीय जनप्रतिनिधिहरुसँग सोधपुछ तथा जानकारी लिने काम भईरहेको छ।’
र, यो पनि