अनैतिक सम्वन्धको आरोपमा नाति–नातिना भएकी ५० वर्षीया दलित महिलाको देवरसँग जबर्जस्ती विवाह (भीडीओसहित)
राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा नातामा देवर पर्ने ब्यक्तिसँग अनैतिक सम्वन्ध राखेको आरोपमा ५० वर्षीया एक दलित महिलामाथि दुर्ब्यवहार गरिएको छ।
होलीको दिन (सोमवार) हरिपुरको दलित वस्तीमा भएको यो घट्नाको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। नविन (NA B IN) नामको फेसवुक आईडीमा अपलोड भएको उक्त भीडिओ अहिले हरेकले शेयर गरिरहेका छन्।
भीडीओमा ती महिला र देवर भनिएका ब्यक्तिलाई बीचमा पारेर गाउँलेले घेरा हालेका छन्। महिला वसेर रोईरहेकी छिन भने देवर भनिएका ब्यक्ति उभिएका छन्। उनलाई गाउँलेले महिलालाई सिन्दुर हाल्न उक्साउने र दबाब दिने काम गरिरहेको देख्न सकिन्छ।
गाउँलेहरु मध्ये एक जनाले ती ब्यक्तिलाई दोसल्ला ओढाउँछन्, अपमानको भावमा। तर उनी भने फुर्तीका साथ हातमा सिन्दुर बोकेर घुमिरहेका छन्। यत्तिकैमा महिलालाई जवर्जस्ती बसेको ठाउँबाट उठाईन्छ। देवर भनिएका ब्यक्तिले सिन्दुर हाल्छन्।
महिलाले रुँदै सिन्दुर पुस्छिन। सिन्दुर पुछेको विषयमा पनि समाजले आपत्ति जनाउँछ। अन्त्यमा ति ब्यक्तिले हातमा समातेर ती महिलालाई लिएर जान्छन्। भीडीओमा ती महिलामाथि समाजले गरेको क्रुर अत्याचार देख्न सकिन्छ।
स्थानीयका अनुसार ती महिलाका पति वैदेशिक रोजगारीमा गएका छन्। उनका नाति–नातिना समेत रहेको जनाईएको छ।
प्रहरीले भने यो घट्ना अहिलेसम्म जानकारीमै नआएको जनाएको छ। प्रहरी चौकी धाँतीका सई हरिशंकर पण्डित र इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र यादवले अहिलेसम्म कसैले पनि यस विषयमा प्रहरीलाई जानकारी नगराएको बताए।