सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज हुँदैछ सुनुवाई

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ। जिल्ला अदालतले बलात्कारी ठहर गरेपनि उक्त फैसाला प्रति चित्त नवुझाएर लामिछाने विरुद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको छ।
सोही पुनरावेदनमा आज सुनुवाइ गर्न लागेको हो। गत १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए। २५ पुसमा सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको थियो।
तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले २९ फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उच्च अदालतले ३० फागुनमा उक्त पुनरावेदन दर्ता गरेको थियो।
त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका हुन। उच्च अदालत पाटनले २३ चैतमा दुवै पक्षको पुनरावेदन एउटै मुद्दामा राखेर दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।
मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश गर्दै आजका लागि पेशी तोकेका थिए।