रुस-युक्रेन युद्धमा नेपाली सेनाका पूर्व प्रशिक्षक मारिए, भाई र नाति सम्पर्कविहिन
काठमाडौं– देशको अस्थिर राजनीति र वेरोजगारीले गाँझेपछि दुईचार पैसा कमाउन जोखिम मोलेर रुसी सेनामा भर्ति भएका कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका दाजुभाई मध्ये दाजु विराजन विष्टको मृत्यु भएको छ। भाई निराजन र नाति लोकेन्द्रबहादुर अहिले पनि रुसी सेनाको बंकरमा छन्। घरको अवस्था विल्लिबाठ छ।
४३ वर्षीय विराजनको मृत्यु भएको खबर पाएपछि उनको परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ। छोरा काठमाण्डौंमा इन्जिनियरिङ पढ्दै गरेका विश्वासजंग किरिया बसेका छन् भने सँगै जोडिएको अर्को कोठामा विराजनकी श्रीमती चाँदनी अचेत अवस्थामा छिन्।
गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुले पठाएका थिए। पूर्वनेपाली सेनासमेत रहेका विराजनले भाइलाई ‘तँ बाहिर बस्, म बंकर क्लियर गरेर आउँछु’ भनेर भित्र छिरेका बेला विष्फोट भएको जनाईएको छ।
०५८ सालमा नेपाली सेनामा भर्ना भएका उनी सेनाका प्रशिक्षक र तेक्वान्दो खेलाडी थिए। १८ महिना कमान्डो तालिमसमेत गरेका उनले ०६८ सालमा सेनाको जागिर छाडेर सिंगापुरमा ८ वर्ष सिपगार्डको काम गरे। त्यसपछि ४ वर्ष दुबईमा बसेर फर्केका उनीसहित १२ जना युवाहरु भैरहवा हुँदै दिल्लीबाट रुस पुगेका थिए।
विराजन गत २१ मंसिरमा रुसी सेनामा भर्ना भएक हुन। उनीसँगै उनका सहोदर भाइ ४१ वर्षीय निराजन र नाति (नाता पर्ने) ३० वर्षीय लोकेन्द्रबहादुर पनि उतै छन्। उनीहरुलाई तालिमपछि चैतको अन्तिमतिर युद्धमा पठाएको खुलेको छ। दुई तीन पटक युद्धमा जाँदै आउँदै गरेका उनी निरन्तर परिवारको सम्पर्कमा थिए। तर, गत आइतबार भने उनका साथी परशुराम चौधरीले फोन गरेर विराजन बितेको खबर सुनाए।
निराजनकी पत्नि सिताका अनुसार विराजनको मृत्युको खवर सुनेपछि निराजन र लोकेन्द्र पनि सम्पर्कमा आएका छैनन्। विराजनको खवर सुनाउन नसकेर सम्पर्कमा नआएको वताईए पनि उनीहरुको अवस्था नै सम्पर्क विहिन हो की भन्ने चिन्ता पनि परिवारमा परेको छ।
बंकरभित्र विराजन मारिँदा उनकी श्रीमती भने पतिको सकुशल उद्वारको पहल गर्न माग गर्दैै काठमाण्डौंमा आन्दोलनरत (अनसनमा) थिईन। विराजनका दुई छोराछोरी छन्। छोरा विश्वासजंग काठमाडौँमा इन्जिनियरिङ अध्ययन छन् भने छोरी सुरक्षाले कक्षा १२ को परीक्षा दिएकी छिन्। तीनै जना काठमाडौँमै बस्छन्।
कञ्चनपुरको सुन्दरपुरमा पनि घर रहेकाले एक हप्ताअघि चाँदनी सुन्दरपुर पुगेकी थिईन। काठमाडौँ फर्किनका लागि धनगढी एयरपोर्ट पुगेपछि विराजन मारिएको अपुष्ट खवर उनको कानमा पर्यो। विश्वास नगरेर उनी काठमाण्डौ पुगिन। तर घट्ना पुष्टि भएपछि मंगलबार फेरी सुन्दरपुर फर्किएर किरियामा बसेकी छन्।

