भारतमा घट्यो मोदीको लोकप्रियता, असफल भयो विजेपीको नारा–‘चार सौ पार’

राजविराज– भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखाएको छ। यसअघिका दुई लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले यो पटक मोदीकै नाममा चुनाव लडेको थियो। भाजपाले मोदीको लोकप्रियताको बलमा पुनः बहुमत ल्याउने योजना बनाएको थियो। तर, यो योजना असफल भएको छ।

उनकै निर्वाचन क्षेत्र बाराणासीको नतिजाले पनि मोदीको घट्दो लोकप्रियता देखाउँछ। उनले यहाँ तेस्रो पटक चुनाव जितेका छन्। तर, यसअघिको र अहिलेको जितमा अकाश जमिनको फरक छ। यस पटक उनी १ लाख ५० हजारभन्दा बढी मतान्तरले कांग्रेसका अजय राईलाई पराजित गर्दै सांसद चुनिए। तर उनको मतान्तर ३ लाखभन्दा बढीले घटेको छ।

मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा राईले ४ लाख ६० हजार ४५७ मत पाए। २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए। भने सन् २०१४ मा पनि मोदीको मतान्तर ३ लाख ७१ हजारभन्दा बढी थियो। त्यो चुनावमा मोदीले कुल ५ लाख ८१ हजार ०२२ मत पाएका थिए, जुन कुल मतदाताको ५६ प्रतिशत हो।

मोदीको जादु नचल्दा भाजपा लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ। भाजपाले २४० सिटमा जीत हात पारेको छ। ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ। भाजपाबाट २४१ सांसद निर्वाचित भएका छन्। अघिल्लो चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो। बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसपालि बीजेपीले आफ्नो शक्ति विस्तार गर्दै ४ सयभन्दा बढी सिट ल्याउने दाबी गरेको थियो। उसको चुनावी नारा र लक्ष्य नै ‘चार सौ पार’ थियो। अव भाजपा एक्लैले सरकार बनाउन सम्भव नभए पनि उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले भने बहुमत सिट जितेको छ। उनीहरूलाई मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ।

भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ। कांग्रेसले ९९ सिटसहित विपक्षी गठबन्धनले २३४ सिट जितेको छ। अन्य पार्टीहरूले १६ सिट जितेका छन्। समाजवादी पार्टी (सपा) ३७ सिटसहित तेस्रो दल बनेको छ।

सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा पनि बीजेपी निकै बलियो भएर उदाएको थियो भने कंग्रेसले अनपेक्षित परायजका बेहोर्दै निकै कमजोर बन्न पुगेको थियो। भारतमा १० वर्षपछि संसदमा विपक्षी बेन्च बलियो देखिने भएको छ। अब सरकार मोदीले नै बनाए पनि संसदमा बलियो विपक्षीको सामना गर्नुपर्नेछ।

प्रधानमन्त्री मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूलाई भेट्न बोलाएका छन्। सरकार गठनको दाबी पेश गर्न उनले आफ्ना घटक दलहरुको बैठक बोलाएको जनाईएको छ।

चुनावी परिणामपछि प्रधानमन्त्री मोदीले सबै एकजुट हुँदा पनि विपक्षीहरूले भाजपा एक्लैको जति सिट जित्न नसको बताएका छन्। विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट