केराबारीको खोँचमा मृत फेला परेका महिला पुरुष दुवैको सनाखत, मोटरसाईकलका टुक्रा संकलन

काठमाडौँ– काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मृत फेला परेका दुवै जनाको सनाखत भएको छ।

उनीहरु धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई रहेको प्रहरीले जनाएको छ।

प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेका थिए। उनीहरुको शव बुधबार साँझ फेला परेको थियो। अप्ठ्यारो भिरमा कालो जिन्सको पाइन्ट र खैरो टिसर्ट लगाएको युवक तथा कालो जिन्स पाइन्ट, आकासे रंगको टिसर्ट लगाएको तथा रातो लेडिज ब्याग बोकेको अवस्थामा युवतीको शव फेला परेको थियो।

स्थानीयले एकै ठाउँमा महिला र पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थामा शव निकालेको थियो।

घटनास्थलमा टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट