उत्तर दिल्लीको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

काठमाण्डौं– भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। त्यहाँ स्थित खाद्य प्रशोधन कारखानामा भएको आगालागीमा परी ६ जना घाइते छन्।
दिल्ली प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भएको थियो। प्रहरी घट्नास्थल पुग्दा आगो लागिरहेको थियो। घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाइएको छ।
उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा श्याम, राम सिंह र बीरपा रहेको पुष्टि भएको छ।
घाइते मध्ये पुष्पेन्द्र, आकाश, मोहितकुमार, रवि कुमार, मोनु र लालु रहेका छन्। प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो।