एसईईको नतिजा आयो, ४८ प्रतिशतले मात्रै पढ्न पाउने भए माथिल्लो कक्षा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। नतिजा अनुसार एसईईमा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने उनीहरुले मात्रै माथिल्लो कक्षामा भर्ना लिन पाउने छन्।

नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन्। यसैगरी, २ लाख ४२ हजार ९२ जना विद्यार्थीले माथिल्लो कक्षमा भर्ना पाउने छन्। परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। यही नतिजा अनुसार उनीहरुले अध्ययनलाई अगाडि वढाउन पाउने छैनन्।

यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको हो। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने ब्यवस्था गरिएको छ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको हो।

कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन्। यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक नल्याएका विद्यार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *