१०३ किलोमिटर तल भेटियो सिमलताल पहिरोमा परेको गणपति बसका चालक र सहचालकको शव
चितवन– चितवनको सिमलतालबाट पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर तल गण्डक ब्यारेजको पुल नजिक फेला परेको छ।
भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालबा शुक्रबार विहानदेखि वेपत्ता भएका उनीहरूको शव सोमबार फेला परेको हो। काठमाडौँबाट गौर जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका–६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रनिगाहपुर नगरपालिका–१० का ४८ वर्षीय ऋषि कुमार सिंहको शव मंगलबार परिवारले सनखत गरेका छन्।
यो सँगै बेपत्ता भएका यात्रुमध्ये ९ जनाको शव पहिचान भएको छ भने ८ जनाको शव सनाखत हुन बाँकी छ। दुर्घटनामा परेका ४५ जना यात्रुको अवस्था अझै अज्ञात छ। पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै अत्तोपत्तो छैन।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौर जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
वेपत्ता मध्ये मंगलबार मात्रै गैँडाकोट नगरपालिका १० र मध्य विन्दु नगरपालिकाको नारायणी नदी किनारमा ३ जनाको शव फेला परेको सीडीओ कार्यालय चितवनले जनाएको छ।


