पतिलाई वलात्कारको आरोपमा जेल पुर्याएपछि धनिसाले महाकालीमा हामफालेको खुलासा

काठमाण्डौं– दार्चुलाको महाकाली नगरपालिका–१ की १६ वर्षीया धनिसा कुँवरले शनिवार साँझ सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट महाकाली नदीमा हामफालेर बेपत्ता भएको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल छ। उनले किन नदीमा हाम फालिन भन्ने खुलेको छैन, नत उनको अवस्था नै ज्ञात छ।
कुँवर नदीमा हाम फाल्न तयार भएपछि उनलाई रोक्न स्थानीयले भरपुर प्रयास गरेका थिए। उनी नदी किनारको डिलमा उभिएकी थिईन। त्यो देखेपछि प्रहरीले पनि उनलाई निकै समयसम्म कुराकानीमा अल्झाएको भीडिओमा देखिन्छ। तर, उनी रोकिने सम्भावना नदेखिएपछि उद्धारका लागि प्रहरी अगाडि वढ्नासाथ उनले नदीमा हाम फालेको देखिएको छ।
प्रहरीका अनुसार बालखैमा विवाह गरेकी उनले पतिलाई बैवाहिक बलात्कारको उजुरी हालेर जेल पुर्याएकी छिन्। उनको १५ वर्षकै उमेर (भदौ ०८०) मा महाकाली–१ का उमेशसिंह कुँवरसँग विवाह भएको थियो। उनको माईती दुहु गाउँपालिका–४ हो।
विवाहको केही समयपछि नै उनले जिल्ला प्रहरी कार्यालय दार्चुलामा उमेशसिंहविरुद्ध वैवाहिक बलात्कार र ज्यान मार्ने उद्योगको उजुरी दिईन। ७ माघमा उनलाई पक्राउ गर्न प्रहरी टोली खटियो। तर, प्रहरी हवलदार जयबहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेर उमेशसिंह फरार भए। २० फागुनमा महाकाली–४, पुलघाटबाट उनलाई प्रहरीले पक्राउ गर्यो।
प्रहरीको आँखा छलेर उनी हिरासतबाटै फरार भए। बयानका लागि मुद्दा फाँटमा लाँदै गर्दा हतकडीसहित फरार भएका उनलाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको महाकाली–४ मा लडेर मृत्यु भयो। उनी भने हतकडीसहित भारत पसे।
उनलाई भारतबाटै पक्राउ गरी नेपाल ल्याईएको थियो। उनी जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अहिले पूर्पक्षका लागि थुनामा छन्। उमेशसिंहविरुद्ध मुद्दा हालेपछि धनिसा दिदीसँग बस्दै आएकी थिइन्। उनका सन्तान छैनन्। उजुरी हालेको ५ महिनापछि धनिसा नदीमा हामम्फालेर वेपत्ता भईन।
महाकाली नगरपालिका–१ का वडाध्यक्ष मोहनसिंह महराले घरायसी विवाद र तनावले उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने बताए। तर, उनले नदीमा हामफाल्नु पर्ने पोख्त प्रमाण र कारण भने फेला परेको छैन।