स्थानीय तहले लापर्वाही पूर्वक सडक विस्तार गर्दा सिमलतालमा दुर्घटना भएको छानविन समितिको निस्कर्ष

काठमाण्डौं– स्थानीय तहको लापर्वाहीपूर्ण सडक विस्तारका कारण सिमलतालमा भयंकर दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ।

२८ असारको विहान करिव साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो माटोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो। दुई वटा बसमा गरी ६५ जना यात्रु थिए।

दुर्घटनापछि ३ जनाले पौडिएर ज्यान बचाए भने हालसम्म २४ जनाको शव भेटिएको छ। ३८ यात्रुको अवस्था अझै अज्ञात छ। गृहमन्त्री रमेश लेखकले ३१ असारमा घट्नाको छानबिन गर्न समिति गठन गरेका थिए।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति २ साउनमा दुर्घटनास्थल पुगेर काम सुरु गर्यो। टोलीले दुर्घटनामा बाँचेकाहरुसँग पनि सोधपुछ गरेको थियो। टोली अहिले प्रतिवेदन लेखनमा ब्यस्त छ।

एक सदस्यका अनुसार पछिल्लो समय मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले बाटो खनेको पाइएको छ। बाटो खन्ने क्रममा निस्किएको ढुंगामाटोलाई छेउमै रहेको सिन्दुरे खोल्सीमा फालिएको छ। सोही ढुङ्गाका कारण पानी पर्दा लेदो बगेर राजमार्गमा आएको पाईएको छ।

स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी राजमार्गभन्दा माथि अवैज्ञानिक रुपमा खनेको बाटोका कारण पानी पर्दा लेदो बगाएर ल्याएको र सोही लेदोका कारण दुर्घटना भएको समितिका संयोजक रिजालले पनि बताएका छन्।

वर्षा सुरु भएसँगै त्यहाँ लेदो सडकमा आएको थियो। दिउँसोको समयमा त्यसलाई पन्छाएर सडक खोलिएको तर राति फेरी लेदो जम्मा भएर सडकको माथिल्लो भाग ढाकेको थियो। जसका कारण सडक करिब करिब एकतर्फी जस्तै भएको थियो। यही कारणले गाडी पास हुन समय लाग्यो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्यही अठ्यारोमा रहेका बेला माथिबाट लेदो सहितको पहिरो आएर बगाएको समितिको निस्कर्ष छ।

बाटो राम्रो भएर सहजै गाडी पास हुन पाएको भए यति ठूलो दुर्घटना हुन सक्ने सम्भावना नरहेको समितिको विश्लेषण छ। समितिका अनुसार सडक डिभिजन कार्यालय, भरतपुरले पनि घटनापछि स्थलगत अनुसन्धान गर्दा सडक बाटो विस्तार गर्दा लापरबाही भएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट