कुलमानले अकुत सम्पत्ती कमाएर ४ दाजुभाईका नाममा लुकाएको भन्दै अख्तियारमा उजुरी

काठमाण्डौं– नेपाल प्रहरीका पूर्वडीआइजी तथा हाल एन्टी करप्सन नेटवर्कका निर्देशक रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सम्पत्ति छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
खरेलले मंगलबार दिएको उजुरीमा कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरिएको छ।
खरेलले भनेको छन्– ‘घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा.लि. दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ’
खरेलले रामेछापको सामान्य परिवारमा जन्मेका उनका दाजुभाईको हैसियत करोडौंको कम्पनी खोल्न सक्ने नभएको जनाएका छन्। ‘यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले ? यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए।’– खरेलले भने।
यसअघि नै कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको र अहिलेसम्ममा पनि उक्त कम्पनी निरन्तर घाटामा देखिएको भन्दै हार्डवेयर कम्पनीले भने रड र सिमेन्ट वेच्नेदेखि कमिशन ब्यवस्थापनको काम समेत गर्ने गरेको खरेलले दावी गरेका छन्। ‘पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन। कमिसनको मोटो रकम पनि व्यवस्थापन गर्छ’ खरेलले भनेका छन्–‘त्यही भएर हुन सक्छ एउटा हार्डवेयरको नाममा १७ वटा बैंक खाता खोलेर एक वर्षमा नै अर्बौको कारोबार गरेको’
खरेलले विद्युत नियमन आयोगको स्विकृती विना विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि कुलमानले धेरै ठूलो घोटाला गरेको दाबी गरेका छन्।