अमेरिकाको टेक्सासमा नेपाली किशोरी मुनाको हत्या आरोपमा एक जना पक्राउ

काठमाण्डौं– अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा २१ बर्षकी नेपाली किशोरी मुना पाण्डेको गोली हानी हत्या गरेको घट्नामा अनुशन्धान गर्न त्यहाँको प्रहरीले एक जना शंकास्पद ब्यक्तिलाई पक्राउ गरेको छ। संदिग्ध ब्यक्तिलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपबाट पक्राउ गरिएको हो।
प्रहरीले संदिग्धको परिचय खुलाएको छैन। तर, बुधबार दिउसो संदिग्धको भन्दै फोटो सार्वजनिक गरेको थियो। सीटीटिभी फुटेजबाट लिइएको फोटो २४ अगस्त (शनिबार राती ९ बजेर ४८ मिनेट) को हो।
मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा मृत भेटिएकी थिईन। पाण्डेलाई उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो। उनलाई ३ गोली लागेको जनाईएको छ।
मुना सन् २०२१ अगस्तमा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन। उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको जनाईएको छ। त्यसअघिको अध्ययन भने उनले सुनसरीको इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजमा गरेको जनाईएको छ।
उनी अमेरिका गएपछि फर्किएकी छैनन्। सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी पाण्डे केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन। आमा अनिता अधिकारी पाण्डेका अनुसार पछिल्लो समय मुनाले एक अमेरिकी श्वेत युवकसँग प्रेमसम्बन्ध रहेकोबारे परिवारलाई समेत सुनाएकी थिइन।
अनिता आमा विष्णुमायाँ अधिकारी र कान्छा भाइकी छोरी अनिशासँग काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी छिन्। उनको माईती भोजपुरको साल्पासिलिछो–३, चौकीडाँडा हो। उनले पतिसँग ५ वर्षअघि सम्वन्ध विच्छेद गरेकी थिईन। मुनाको बुबाको घर संखुवासभाको खाँदबारी नगरपालिका–२, चेवा हो।
पति श्यामनारायण पाण्डेसँग डिभोर्स भएपछि अनिता र मुना बसाइँसराइ गरेर सुनसरीको इटहरी–२, हलगाडमा बस्दै आएका थिए। छोरी अमेरिका गएपछि भने अनिता काठमाण्डौं सरेकी हुन।