तिरहुत गाउँपालिकाः कामै नगरी साढे १७ लाख झ्वाम, तत्कालिन २ जना हाकिम, इन्जिनियर र लेखाप्रमुखसहित १ दर्जन वढिलाई मुद्दा
राजविराज — सप्तरीको तिरहुत गाउँपालिकामा कामै नगरी करिव साढे १७ लाख रुपैया हिनामिना गरेको आरोपमा तत्कालिन उपाध्यक्ष तीर्थमाया मण्डल (खत्वे), प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इक्रामसहित १९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। अधिकृत यादव हाल सप्तरीकै राजगढ गाउँपालिकामा कार्यरत छन्।
तिरहुत–५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा वडा नं. १ देखि ५ सम्म सोलार वत्ती राख्ने योजनामा काम नै नगरी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ मा वडा नं. ५ स्थित पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन, सम्वर्द्धन तथा व्यवस्थापन कार्यको लागि भएको सम्झौता विपरित कम काम गरी बढी काम गरेको देखाएर रकम हिनामिना गरेको अख्तियारको दावी छ।
प्राविधिक मूल्याङ्कनसहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा वढी काम देखाएर भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको आरोप छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरजन्य कार्य भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो । दुवैजनामाथि ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ ३३ पैसा विगो र जरिवाना मागदावी कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त योजनाको अनुगमन तथा भुक्तानीमा संलग्न गाउँपालिकाका गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, लेखा प्रमुख सोनु कुमार सोनी, योजना अनुगमन समितिका सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्र कुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरी, उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्रीदेवीलाई समेत विपक्षी बनाइ मुद्दा दायर गरेको छ।
यसैगरी, वडा नम्वर १ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा करिव साढे ६ लाख रुपैयाँ अनियमतिता गरेको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डलसहित ९ जनामाथि मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा सोलार बत्ती खरिद तथा जडान कार्यको लागि भएको योजनाको सम्झौता बमोजिम कार्य नभएको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब तयार गरी/गराई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी वास्तविक भएको कामभन्दा ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी अख्तियारको दावी छ ।
तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा सोही बराबरको बिगोसहित कैद र जरिवाना माग दाबी लिइएको छ । त्यस्तै, तत्कालिन उपाध्यक्ष एवं योजना अनुगमन समितिकी संयोजक खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र विरेन्द्र कुमार यादवले सोलार बत्ती खरिद तथा जडान योजनाको अनुगमन प्रतिवेदन पेश गर्दा बदनियतपूर्वक वास्तविकभन्दा बढी कार्य भएको भनि प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिस दिएको भन्दै उनीहरुलाई पनि कैद र जरिवाना सजाय माग दाबी लिइएको जनाइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रबेन्द्र कुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवलाई पनि उक्त रकम बराबरको विगो दावी गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

सोलार वत्ति प्रकरणमा अर्को साढे ६ लाखको मुद्दा



